२ साउन, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘प्रभावका लागि जोडौं भन्ने मूल नारासहित आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै, प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ।
कम्पनीका अनुसार ‘कनेक्ट फर इम्प्याक्ट’ अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान हो।
यसअन्तर्गत क्लासिक टेकले नेपाल अपाङ्ग महिला संघ सँग समावेशी रोजगारी प्रवर्द्धनका लागि समझदारीपत्र मा हस्ताक्षर गरेको छ।
साथै, Anmol Children Development Home लाई निःशुल्क उच्च गतिको इन्टरनेट सेवा र एक थान कम्प्युटर उपलब्ध गराएर बालबालिकाको डिजिटल शिक्षामा सहयोग गरेको जनाएको छ।
कम्पनीले ग्राहक, कर्मचारी, साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा र सामाजिक उत्तरदायित्वमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।





