२१ कार्तिक, काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजि श्रेष्ठले कुनै पार्टीमा नलागेका देशभक्त र स्वच्छ ब्यक्तिलाई राजदूत बनाउन सरकारसंग माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै पुर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले राजदुत नियुक्तिमा पार्टीहरुको भागबण्डाबाट भन्दा छुट्टै साझा सुची बनाउनु पर्नेमा जोड दिएका हुन् ।
साथै नेता श्रेष्ठले अघिल्लो ओली सरकारले नियुक्ति गरेका सबै राजदुतहरुलाई एकैपल्ट फिर्ता बोलाउने सकारको निर्णयप्रति पनि आफुले गठबन्धनको बैठकमा असहमति जनाको बताएका छन् । उनले प्रतिगमन बिरोधि संर्घषका बेला गठबन्धनका सबै बैठकमा उपस्थित भएपनि संघर्ष सफलपछि गठबन्धनका बैठकमा आफुलाई कमै बोलाउने गरिएको पनि बताएका छन् ।
उनले संविधान, कानून र लोकतान्त्रिक मुल्यमान्यता बिपरित नियुक्ति गरिएका, असक्षम र ब्यबहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदुतहरुलाई मात्र फिर्ता बोलाउनुपर्ने भन्दै सबैलाई एकमुष्टरुपमा बोलाउनु ठिक नहुने बताएका हुन् । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान ब्यक्तिहरुले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने र त्यो देश र ब्यक्ति दुबैका लागि अन्याय हुने नेता श्रेष्ठको भनाई छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि केपी शर्मा ओलीको पालामा राजनीतिक व्यक्तिहरूबाट नियुक्त सबै राजदूतलाई फिर्ता बोलाएका थिए । त्यस पश्चात प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका, बेलायत र भारतका लागी राजदुत सिफारीस गरेका थिए । साथै उनिहरुको संसदीय सुनुवाई प्रकृया नै सुरु भईसकेको छ ।






