प्रदेश 2

प्रदेश २ः मन्त्रालय भागबण्डा मिलाउन मुख्यमन्त्रीले गरे वनमन्त्री रामनरेशलाई बर्खास्त

३० कार्तिक, काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जनता समाजवादीका नेता समेत रहेका मन्त्री रायलाई आज बर्खास्त गरेका हुन् ।

तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हालेका छन् । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट मन्त्री बनेका रायलाई पदमुक्त गरेका हुन् ।

उनले यसअघि मन्त्री रायलाई राजीनामाका लागि निर्देशन दिएका थिए । तर राजीनामाका लागि आफूलाई पार्टीले भन्नुपर्ने अडान राख्दै रायले मुख्यमन्त्रीले माग गरेकै आधारमा राजीनामा नदिने अडान लिएका थिए ।

गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राउतले यसअघि सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सामेल गरिसकेका छन् । नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गर्न उनले मन्त्रालयको भागवण्डा मिलाउने उद्देश्यले मन्त्री रायको राजीनामा माग गरेका थिए ।