८ पुस, काठमाडौं । प्रदेश सभा बैठकमा प्रदेश २ को नाम मधेस प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा र मध्यमधेस प्रदेश प्रस्ताव गरिएको छ । आज प्रदेश सभाको ८ औं अधिवेशनको दोस्रो बैठकमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश नाम प्रस्ताव गरेका छन् ।
नेकपा (एस)ले प्रदेशको नाम जानकी र नेपाली कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस पर्साका सांसद राजेश्वर प्रसाद साहले मध्यमधेस नाम प्रस्ताव गरेका छन् । जनता समाजवादी पार्टी(जसपा) संसदीय दलका सचेतक शैलेन्द्रकुमार यादवले प्रस्ताव गरेको मधेस प्रदेश प्रदेशको नामलाई लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद रानी शर्माले समर्थन गरिन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रस्ताद साहले प्रदेशको नाम मधेश प्रदेश प्रस्ताव गरे ।
प्रदेश सभामा यसअघि प्रस्ताव गरिएको मधेस प्रदेशको प्रस्तावमा समर्थन गर्न कठिनाइ भएको बताउँदै माओवादी केन्द्र अब सत्ता पक्षसंगै मिलेर मधेस प्रदेश प्रस्तावमा अगाडी बढ्न सक्ने बताए । साहको प्रस्तावलाई माओवादी केन्द्रका सांसद जगत प्रसाद यादव समर्थन गरे । नेकपा (एस)को तर्फबाट कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले प्रदेशको नाम जानकी प्रदेश नाम प्रस्ताव गरे । जानकी प्रदेश नामलाई नेकपा(एस)का प्रदेश सांसद डिल्ली उप्रेती र नागेन्द्र रायले समर्थन गरे ।
नेपाली कांग्रेसका प्रदेश सांसद शिवचन्द्र चौधरीले प्रदेशको नाम मिथिला भोजपुरा प्रदेश नाम प्रस्ताव गरे । पार्टीको प्रस्ताव मिथिला प्रदेश भएपनि प्रदेशको नामका लागि छलफल गर्न सकिने सांसद चौधरीले बताए । सांसद चौधरीले प्रस्ताव गरेको मिथिला भोजपुरा प्रस्तावलाई नेपाली कांग्रेसकी सांसद मञ्जु यादवले समर्थन गरिन् । प्रस्तावमा समर्थन गर्दै सांसद यादवले पार्टीको छुट्टाछुट्टै प्रस्ताव ल्याउन प्रदेशको नाम सम्भव नहुने भएकाले सबै दल एकमत भएर प्रदेशको नाम टुंगो लगाउनु पर्ने बताए ।
नेपाली कांग्रेसकै सांसद राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्यमधेस प्रदेश प्रस्ताव गरे । प्रदेश सभाको ५ वर्ष सुरु भएकोले फरक फरक नाम प्रस्ताव भएपनि सर्वसहमतिबाट प्रदेशको नाम तोक्न सके उत्तम हुने उनले बताए । साहको मध्यमधेस प्रस्तावलाई प्रदेश सांसद शंकरप्रसाद चौधरीले समर्थन गर्दै प्रदेशको नाम टुंगो लगाउन दलका नेताहरुलाई आग्रह गरे ।





