प्रदेश 2

चार हजार बिघा जग्गामा स्यालो ट्युबवेलबाट सिँचाइ

वाग्मती, १० पुस । लामो समयदेखि खेतीका लागि सिँचाइको कुनै सुविधा नभएको बारा, पर्सा र रौतहटका ग्रामीण क्षेत्रमा स्यालो ट्युबवेल जडान गरेर सिँचाइ सुविधा पुर्याइएको छ । भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय पर्साद्वारा स्यालो ट्युबवेलमार्फत उक्त तीन जिल्लाको चार हजार ५५८ बिघा खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्याइएको जनाएको छ । सो सिँचाइको सुविधा भएपछि स्थानीय किसान अत्यन्त हर्षित एवं खुसी भएका छन् ।

स्यालो ट्युबवेलबाट आउने पानी सिँचाइ गर्ने मात्र नभइ उक्त पानी खानेसमेत गरेको स्थानीय उपभोक्ताको भनाइ छ । त्यस पानीबाट लुगासमेत धुने गरिएको छ । सङ्घीय सरकारको प्रत्यक्ष लगानीमा समृद्ध तराई–मधेस सिँचाइ विकास कार्यक्रमअन्तर्गत बारा, पर्सा र रौतहटमा रु १५ करोडको लागतमा गत आव २०७७\७८ मा एक हजार २३२ स्यालो ट्युबवेल जडान गरिएको जनाइएको छ । त्यसबाट चार हजार ५५८ बिघा जमीन सिञ्चित भइरहेको छ ।

सङ्घीय सरकारअन्तर्गत रहेको भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय पर्साका प्रमुख प्रकाश पौडेलले गत आर्थिक वर्षको सो अवधिमा कार्यालयको एक हजार २४५ जडान गर्ने लक्ष्य रहेकामा एक हजार २३२ स्यालो ट्युबवेल जडान गरिएको बताएका छन् ।

कार्यालय स्थापना भएको दुई वर्षमा प्रथम आर्थिक वर्षमा ९९ प्रतिशत काम सम्पन्न हुनु अत्यन्त सराहनीय रहेको प्राविधिकको भनाइ छ । बारा, पर्सा र रौतहट कार्यक्षेत्र रहेको उक्त कार्यालयले उपभोक्ता समितिमार्फत स्यालो ट्युबवेल र मोटर पम्प जडानको रकम दिएर जडान हुने गरेको र उक्त स्यालो ट्युबवेलबाट सिँचाइ सुविधा पुर्याउने गरेको प्रमुख पौडेलले बताएका छन् । एउटा स्यालो ट्युबवेलबाट करिब साढे तीन बिघा जमिनमा सिँचाइ हुने गरेको छ । स्यालो ट्युबवेल र मोटर पम्प जडानमा करिब रु एक लाख २० हजार खर्च हुने गरेको बताइएको छ ।