राजनीति

अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको प्रमुख कारणः प्रधानमन्त्री देउवा

२ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको मुख्य कारण बन्न सक्ने चिन्ता व्यक्त गरेका छन् । चौबीसौँ भूकम्प सुरक्षा दिवस, २०७८ का अवसरमा आज आयोजित कार्यक्रममा उनले भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले भने, “विसं २०७२ को भूकम्पमा देखेका र भोगेका कुरालाई मनन गरेर आउँदा दिनमा यसबाट जोगिने योजना तयार गर्नुपर्नेछ ।” भूकम्प तथा आगलागी तथा बाढीपहिरोजस्ता प्राकृतिक विपद्को क्षति न्यूनीकरणका लागि तीनै तहका सरकारबीच सहकार्य अति नै जरुरी रहेको उनको भनाइ छ । सो जोखिमबाट मुलुकवासीको रक्षा गर्न दक्ष जनशक्ति परिचालन गर्न सबै स्थानीय तहले तयारी अवस्थामा रहिरहनुपर्ने प्रधानमन्त्री देउवाले आग्रह गरे ।

गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पीय जोखिमका दृष्टिले मुलुक ११औँ नम्बरमा रहेको जानकारी गराउँदै सोबाट सुरक्षित रहन बलियो संरचना निर्माणमा सबैले लाग्नुपर्ने बताए। उनले भने, “देशभर पटक–पटक गरी आउने प्राकृतिक विपत्तिबारे जानकारी लिन पूर्वसूचना प्राप्त गर्ने संयन्त्रलाई जडान गरेर थप प्रभावकारी बनाउनेछौँ ।” ललितपुर महानगरपालिकाले जस्तै मुलुकमा रहेका अन्य बाँकी पालिकाले समेत भवन निर्माण संहिता लागू गर्नसके जोखिम कम हुने उनको भनाइ थियो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी दिनमा आउने भूकम्पको जोखिम कम गराउन बलियो भवनले मात्रै पर्याप्त नहुने भन्दै सोसँगै भूगोलको संरचनाप्रति पनि संवेदनशील हुनुपर्ने धारणा राखे । उनले भने, “मुलुकका भित्री सहरमा प्राकृतिक विपद् आउँदा प्रयोग गर्न मिल्ने खुला क्षेत्र अभाव भएकाले सोको व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्दछु ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भवन निर्माण संहिता, २०६९ बनाउने पहिलो नगरपालिका आफ्नै रहेको जानकारी गराउँदै त्यसैका कारण गएको पछिल्लो गोरखा भूकम्पमा महानगरपालिकाभित्र कम क्षति भएको जिकिर गरे । उनले भने, “हामीले विपद्का बेला प्रयोग हुने मानवीयका साथै भौतिक स्रोत साधनलाई पुल्चोकस्थित जुद्धवारुणयन्त्र कार्यालयको एउटै छानामुनि तयारी अवस्थामा राखिरहेका छौँ ।” महानगरपालिकाभित्र रहेको सार्वजनिक तथा ऐलानी जग्गामा कुनै पनि संरचना निर्माण गर्न नपाउने भनेर नीति निर्माण गरिसकेको उनले बताए ।

भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले गएको भूकम्पमा भएका क्षति र विनाशलाई मध्यनजर गरेर पूर्वतयारी अत्यावश्यक भएकाले त्यसतर्फ लाग्न अनुरोध गरे । उनले भने, “मुलुकव्यापी सुरक्षितका साथै प्रतिरोधी भवन निर्माणका लागि विभागले विसं २०५८ देखि कालिगडलाई तालिम प्रदान गरिरहेको छ ।”

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सन् २०३० सम्ममा मुलुकलाई सुरक्षित बनाउनका लागि प्रशस्तै योजना अघि बढाइने बताए । उनले भने, “मुलुकमा हुने विभिन्न प्रकारका विपद्को पूर्वानुमानका लागि प्रविधिका साथै संंयन्त्र पनि तयार अवस्थामा अघि बढाउनेछौँ ।”

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जोखिम न्यूनीकरणका लागि संस्थागतका साथै व्यवस्थित काम गर्न जरुरी भएको धारणा राखे ।

संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवाडले मुलुकका समुदायस्तरमा भूकम्पजस्ता प्राकृतिक प्रकोपको चेतना पु¥याउन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । उनले भने, “नेपालमा देखिने विपद्बारे जनचेतना जगाउनका लागि सरकारसँग सहकार्य गर्न हामी तयार छौँ ।”

यसैगरी कार्यक्रममा प्रधानमन्त्री देउवाले भूकम्पीय सुरक्षा डिजिटल प्रविधिका साथै लपु महानगरपालिकाले प्रकाशित गरेको ‘विपद् पुस्तिका’ समेत भर्चुअल माध्यमबाट उद्घाटन गरे। सो अवसरमा महानगरपालिकाका प्रमुख महर्जनले भने पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर अगाडि रहेको ‘भूकम्प स्तम्भ’मा माल्यापर्णका साथै दीप प्रज्ज्वलन गरेर सो नगरमा कुनै प्रकारको विपद्को जोखिम भोग्नु नपरोस् भन्ने कामनासमेत गरे ।

उक्त कार्यक्रममा ‘घुँडा टेकी गुँडुल्की ओत लागी समात’ भन्ने राष्ट्रिय अभ्यास कार्यान्वयनका लागि नमूना प्रदर्शनका साथै उपस्थित महानुभावहरुले सोको एकपटक पालना पनि गरेर देखाए ।