कृषि

मह व्यवसायीलाई प्रोत्साहित गर्न मह व्यवसायी सङ्घको आग्रह

१४ माघ, काठमाडौं । नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले गुणस्तरीय मह उत्पादन गर्ने व्यवसायीलाई प्रोत्साह गर्न सरकारसँग आग्रह गरेको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवलाई ज्ञापनपत्र बुझाउँदै सङ्घले नेपाली मह र मौरीपालनमा संलग्न कृषकको गरिमा बढाउने कार्यमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने जनाएको हो ।

गुणस्तरीय मह उत्पादन बढाउने र महको गुणस्तर कायम राख्न सरकारले लिने नीतिमा आफूहरुको सहयोग र समर्थन रहने बताउँदै संघले बिना लेबल बिक्री वितरण भइरहेका महबारे छानबिन गरी अखाद्य महको बिक्री वितरण रोक्न पनि माग गरेको छ । 

पछिल्ला समय मौरीपालन व्यवसाय आयआर्जन, गरिबी निवारण, आयात प्रतिस्थापन, विदेशी मुद्रा आर्जन एवं जनताको रोजीरोटीको महत्वपूर्ण रुपमा स्थापित भएको सङ्घले जनाएको छ । नेपालमा रैथाने, विकासे र जंगली मौरीको पालन गरी वार्षिक लगभग तीन हजार ९८० मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । मौरीपालन व्यवसायमा १० हजार परिवार संलग्न रहेको संघले जनाएको छ ।