विशेष

एमसीसी संसदको बहुमतद्वारा ब्याख्यात्मक टिप्पणीसहित अनुमोदन

१५ फागुन,काठमाण्डौ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा एमसिसी सम्झौता र सम्झौतासम्बन्धी व्याख्यात्मक टिप्पणीसहित संसदको बहुमतबाट अनुमोदन भएको छ ।माओबादी केन्द्र र एकीकृत समाजबादी दलको आग्रहमा ब्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पास गर्न सहमती गर्ने आज बसेको गठबन्धन बैठकले निर्णय गरेपछि संसद बैठकबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधकाबिच एमसीसी अनुमोदन भएको छ ।

नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले द्विपक्षीय सम्झौतामा एक पक्षीय रूपमा मात्र व्याख्यात्मक घोषणा गरेर त्यसको वैधानिकता नहुने र यसबाट देश र जनतामा भ्रम सिर्जना गरिएको बताउनुभयो । एमसिसी सम्झौतामा उल्लेख गरिएका प्रावधान नेपालको संविधान र कानुन विपरीत रहेको उको भनाइ छ ।

त्यसअघि बैठकले अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको ‘नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौताका प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकको बहुमतले स्वीकृत गरेको थियो ।

संसद्को आजको पहिलो बैठकमा एमसिसी सम्झौताको सैद्धान्तिक पक्षमाथि छलफल भएको थियो । अर्थमन्त्री शर्माले सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए  ।