स्वास्थ्य

नसर्ने रोग पहिचान गर्न निःशुल्क रक्त परीक्षण कार्यक्रम

१७ माघ, पर्वत । पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि कुश्मा नगरपालिकाको अभियान अन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो । अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट सुरु भएको छ ।

सोमवार कटुवाचौपारीमा आयोजित शिविरमा ३०० जनाको रक्त परीक्षण गरिएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोग जस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ । सो परीक्षणमा ३९ जनामा उच्च रक्तचाप, २२ जनामा मधुमेहको उच्च जोखिम रहेको पाइएको छ भने अन्यमा सामान्य अवस्था रहेको पाइएको स्वास्थ्य सहसंयोजक यामप्रसाद शर्माले जानकारी दिए ।
कुश्मा ९ का वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले स्वास्थ्य रक्षाका लागि नागरिकले प्रत्येक ६/६ महिनामा रगत परीक्षण गर्नुपर्ने भन्दै नगरपालिकाको यो महत्वपूर्ण कार्यक्रम सुरु गरेको बताए ।

ज्येष्ठ नागरिकमा नसर्ने रोग लाग्ने र समयमै परीक्षण गरी थप उपचार गर्न सहज होस् भनेर कुश्मा नगरपालिकाले यो कार्यक्रम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए । रोगले थलिएपछि बल्ल उपचारका लागि जाने धारणा समाजमा रहेको अवस्थामा यो अभियानले बेलैमा रोगको पहिचान र निदान हुने भएकाले कुश्मा नगरपालिकाले अभियान सुरु गरेको गुरुङले बताए ।

नसर्ने रोगको पहिचान शिविर नगरपालिकाका सबै वडामा सञ्चालन हुने नगरप्रमुख रामचन्द्र जोशीले बताएका छन् । कुश्माबजारदेखि दुरदराजसम्म पुगेर स्वास्थ्यकर्मीले शिविर सञ्चालन गरी बिरामीको पहिचान र उपचार गर्ने जोशीले बताए । नगर उपप्रमुख सीता काफ्ले लामिछानेले विशेष गरी ज्येष्ठ नागरिकलाई नसर्ने रोग लाग्ने भएकाले स्वास्थ्यकर्मीलाई ज्येष्ठ नागरिकको जीवनरक्षाका लागि ध्यान दिएर सेवा दिन अनुरोध गरिएको बताए। नगरपालिकाले शिविरमा नआउनेलाई घरमै पुगेर पनि सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ ।