गण्डकी प्रदेश

पर्यटन प्रवद्र्धनार्थ म्याराथन कोसेढुङ्गा सावित : मुख्यमन्त्री पोखरेल


२८ फागुन, तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन प्रवद्र्धनका लागि व्यास अल्ट्रा म्याराथन कोसेढुङ्गा सावित भएको बताएका छन् । व्यास नगरपालिका–५ मानुङकोटबाट सुरु भएको म्याराथनको व्यास–८ पुलिमराङमा भएको समापन कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ऐतिहासिक दुई स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले आयोजना गरेको म्याराथन पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै उनले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी प्रदेश सरकारले काम गर्दै आएको दाबी गरे । व्यासनगरपालिकाले दुई ऐतिहासिकस्थललाई खेलकुदका माध्यमबाट जोड्न खेलेको भूमिका सराहनीय भएको भन्दै उनले यसबाट अन्य पालिकाले पनि सिको गर्न सक्ने तर्क गरे । व्यास नगरपालिका–५ मानुङकोटबाट व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटर दूरीमा उक्त म्याराथन आयोजना गरिएको हो ।

व्यास नगरपालिकाले थालेको म्याराथन प्रतियोगितालाई आगामी दिनमा निर्वाचित हुने जनप्रतिनिधिले समेत प्राथामिकता दिएर निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ । मुख्यमन्त्री पोखरेलले व्यास म्याराथन टे«डमार्क बनिसकेकाले यसलाई संरक्षण एवं संवद्र्धन गर्न सबैको आवश्यकता रहेको औँल्याए।

कार्यक्रममा उपप्रमुख मीरा जोशीले महिलाले पनि खेलकुदमा भाग लिन सक्छन् भन्ने उद्देश्यले व्यास नगर महिला हाफ म्याराथन नारी दिवसका अवसरमा आयोजना गर्दै आइएको जानकारी दिए । खेलकुदका माध्यमबाट ऐतिहासिक एवं धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा थप सहज हुने विश्वासका साथ नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथामिकता दिँदै आएको उनले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतका वक्ताहरूले व्यास नगरपालिकाले दीर्घकालीन सोचका साथ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित खेलकुदको आयोजना गर्दै आएको बताए।