२८ फागुन, काठमाडौँ । नेकपा (एमाले)वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजन हुने मुलुककै लागि दुर्भाग्य भएको बताएका छन् । काठमाडौँको बाँसबारीस्थित विश्वशान्ति चिरन मिलन क्याम्पसको रजन जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यसरी राजनीति विभाजन हुनु गलत भएको बताए।
उनले विभाजित राजनीतिमध्ये एउटाको नेतृत्व नेकपा (एमाले)ले गरेको र अर्कोको नेतृत्व गठबन्धन दलहरूले गरिरहेको उल्लेख गरे। नेता पोखरेलले एमालेले नेतृत्व गरेको राजनीति जनताको हक, हितका लागि भएको तर गठबन्धनले भने आफ्नो स्वार्थका लागि राजनीति गरेको आरोप लगाए।
एमालेले नेतृत्व गरेको राजनीतिले निश्चित एजेण्डा बोकेको, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि रहेको उनको भनाइ थियो । उनले एमालेले राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानका साथ मुलुक बनाउने सपना बोकेर अघि बढेको दाबी गरे ।
समारोहमा नेपाली कांग्रेसका नेता नरहरि आचार्य, अधिकारकर्मी दमननाथ ढुङ्गाना, प्रा डा मोहन लोहनीलगायतको सहभागिता थियो । समारोहमा स्कुलको नवनिर्मित भवनको उद्घाटन तथा रुस र युक्रेनबीचको युद्ध अन्त्य एवं विश्व शान्तिका लागि प्रार्थनासमेत गरिएको थियो । सो अवसरमा सर्वोच्च शिखर सगरमाथा चढेका क्याम्पसका तीन विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा शम्भुराम सिंखडाका अनुसार उक्त क्याम्पसले निम्न आय भएका गरिब विद्यार्थीलाई पढाउँदै आएको छ ।





