राजनीति

नेपालको इतिहासमा राष्ट्रिय मेलमिलाप नीति बिर्सन नसकिने अध्याय हो : वरिष्ठ नेता खनाल


३० फागुन, काठमाण्डौ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको राजनीतिक जीवनी यात्रामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेशनको सहकार्यमा निर्माण गरिएको उक्त वृत्तचित्रमा मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर विपीले लिएका राष्ट्रिय मेलमिलापको नीति, सहासिक निर्णय, राजनीतिक जीवन र त्यसबेलाका घटनाक्रम समेटिएका छन् ।

सुन्दरीजल बन्दीगृहमा रहेका बेला तत्कालीन राजासँग भएको भेटवार्ता, भारत निर्वासनमा रहँदा प्रजातन्त्रका लागि अघि सारिएका कदम, आन्दोलन, भारतीय नेतासँगका छलफल र सामीप्यतासम्बन्धी विषय पनि वृत्तचित्रमा समावेश छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा विपीको योगदानका सम्बन्धमा  नेपाली कांग्रेसका नेतात्रय कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट,  कोइराला र गणेशमानसिंह परिवार, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ मुटुरोग विशेषज्ञ मृगेन्द्रराज पाण्डे, पेट रोगसम्बन्धी विशेषज्ञ मधु घिमिरे लगायतका स्मरण पनि सो वृत्तचित्रमा राखिएको छ ।

वृत्तचित्रमा विपीलाई लागेको ‘राजद्रोह’ मुद्दाको निर्णय सुनाउने न्यायाधीशका विचारसहितको अन्तरकथा पनि छाँयाङ्कन गरिएको छ । ‘राजद्रोही राजनेता’ वृत्तचित्र हेरेपछि सञ्चारकर्मीको जिज्ञासामा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियतामा खतरा बढिरहेका बेला नेपालका  लोकतान्त्रिक राजनीतिक शक्तिबीच एकताको बोध गरी विपीले लिएका निर्णय लोकतन्त्रका लागि साहसिक कदम  भएको प्रतिक्रिया दिए । उनले भने, “नेपालको त्यसबेलाको राजनीतिक सेरोफेरोमा रही वृत्तचित्र बनेको छ । नेपालमा त्यसबेला विपीले लिनुभएको कदम इतिहासमा बिर्सन नसकिने अध्याय हो ।”


सुशील कोइराला मेमोरियल फाउन्डेशनका सदस्य सचिव  अतुल कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिई विसं २०३३ मा स्वदेश फर्किएपछि विसं २०३७ को जनमत सङ्ग्रहसम्मका मूलभूत राजनीतिक घटनाक्रमसहितका विषयवस्तु वृत्तचित्रमा समेटिएको जानकारी दिए । इतिहासको संरक्षणका लागि  अन्य वृत्तचित्र निर्माण प्रक्रिया अघि बढाइने उनले बताए ।  वृत्तचित्र हेर्न नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम फाउण्डेशनका अध्यक्ष सशाङ्क कोइराला, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडू, विभिन्न पार्टीका नेता, सांसद तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति सहभागी थिए ।