प्रदेश 1

“एमाले देश र जनताको विकास तथा सुशासन स्थापना गर्न अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।” : अध्यक्ष ओली


११ चैत, उदयपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले आयोजना गरेको कार्यक्रममा उनले भने, “एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।”

अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत अध्यक्ष ओलीको थियो । एमालेले देशमा गरिबी हटाउन सडक, भौतिक संचरना निर्माणको काम, लोककल्याणकारी कार्यको लागि देशको अन्य राजनीतिक दलहरूभन्दा दुईचार कदम अगाडि रहेको दाबी गर्दै उनले अन्य राजनीतिक दल देश विकासको काम गर्न र सुशासन स्थापनामा असफल भएको आरोप लगाए ।

आफ्नो नेतृत्वमा बहुमतको सरकार रहेको बेला आफ्नै पार्टीका केही स्वार्थी नेता र अन्य पार्टीले आफूले राम्रो काम गरिरहेको कारण सरकार ढाल्ने काम गरेर विकास गर्न नदिएको अध्यक्ष ओलीले गुनासो गरे । उनले आगामी निर्वाचनमा एमाले निर्वाचित भएपछि पार्टीले देश विकासलाई निरन्तरता दिने बताए ।

अध्यक्ष ओलीले भने, “अहिले पनि एमाले देशको सबैभन्दा ठूलो प्रतिपक्ष पार्टी हो, आगामी वैशाख ३० को स्थानीय निर्वाचन सम्पन्न भएपछि पनि एमाले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी बन्ने छ ।” उनले अलमलिएका पुराना कार्यकर्तालाई बेलैमा एमालेमा सङ्गठित हुन आह्वान गरे। एमालेले आगामी निर्वाचनबाट बहुमतको सरकार गठन गरेपछि लोककल्याणकारी कार्य र देश विकासको कार्यलाई झनै तीव्रता दिने विश्वास दिलाउँदै अध्यक्ष ओलीले देशको हित हुने तथा कसैसँग नझुक्ने नीतिसमेत लिने उल्लेख गरे ।

एमाले उदयपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुअघि एमाले अध्यक्ष ओलीले उदयपुरको सदरमुकाम गाइघाटस्थित बोक्से बासबारीमा निर्माण गरिएको नयाँ मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गरेका थिए। आँखा अस्पताल उद्घाटनसँगै आँखाको अप्रेशन गरेका बिरामीसँग अध्यक्ष ओलीले परामर्सका साथै अस्पताल भवनको निरीक्षणसमेत गरेका थिए ।