राजनीति

संविधान रक्षाका लागि गठबन्धन आवश्यक: मुख्यमन्त्री पाण्डे


३ वैशाख, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको)द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले संविधान, सङ्घीयता र समावेशी लोकतन्त्रको रक्षाका गठबन्धन आवश्यक रहेको बताएका हुन् ।

“संविधानको रक्षाका लागि लागेका दलहरू सँगसँगै अगाडि बढ्दै देशको विकासलाई अगाडि बढाउन गठबन्धन आवश्यक छ”, उनले भने। प्रगितमनकारी दलहरूबीच हुन लागेको गठबन्धनले पाँच दलीय गठबन्धनलाई कुनै फरक नपर्ने उनको भनाइ थियो ।

मनमोहन मेमोरियल अस्पतालका संस्थापक अध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्नका लागि विदेशी लगानी भित्र्याउनुपर्ने बताए। “अस्पताललाई अब नयाँ ढङ्गले सञ्चालन गर्नुपर्छ”, उनले भने।

मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले उच्च शिक्षा ऐन पारित गरेको बताउँदै सोही ऐनअनुसार मनमोहन अस्पताललाई पनि विश्वविद्यालयका रूपमा अगाडि बढाउन सकिने धारणासमेत राखे। उनले मनमोहन अस्पतालमा कर्मचारी भर्ना, बढुवा, सरुवा गर्दा निश्चित मापदण्ड बनाउनुपर्ने बताउँदै नयाँ सञ्चालक समितिलाई इमान्दार र लगनशील भएर काम गर्न आग्रह गरे ।

विसं २०६२ चैत ४ गते सहकारी दर्ता गरेर विस २०६३ जेठ १ गतेदेखि काठमाडौँमा सञ्चालनमा आएको मनमोहन अस्पतालले अहिले झापाको बिर्तामोडमा समेत १०० शय्याको अस्पताल सञ्चालन गरेको छ ।

यस्तै काठमाडौँको रविभवनमा मनमोहन मेमोरियल इन्च्टिच्युट अफ हेल्थ साइन्स, काठमाडौँको दहचोकमा अस्पताल भवनसमेत निर्माण गरेको छ । स्थापनामा २८ जना संस्थापक शेयर रहेको अस्पतालमा हाल दुई हजार ६०० भन्दा बढी शेयरधनी रहेको सो अस्पतालले जनाएको छ ।