बाग्मती

गहनापोखरीमा खोजियो टुँडालदेवीको गहना

५ वैशाख, काठमण्डौ । काठमाडौँ महानगरपालिका वडा नं. ५ स्थित गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु हुन्छ । जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिने जात्रा सम्पन्न गरिएको जात्रा सञ्चालन समितिको अध्यक्षसमेत रहेका काठमाडौँ महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए ।

 प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी काठमाडौँ महानगरपालिका वडा नं. ५ को हाँडीगाउँ र वडा नंं. ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा भव्यरुपमा गरिन्छ । जात्राका क्रममा आज भने देवीदेवतालाई विश्राम दिइन्छ । वैशाख कृष्ण तृतीयाका दिन मङ्गलबार भाटभटेनी महिला समूहले विशेष पूजा गर्ने विधि गरिने जात्रा सञ्चालन समितिले जनाएको छ । 

जात्राका लागि नक्साल चार ढुङ्गेको माने खटसमेत आज रातिसम्म टुँडालदेवी लगिएको छ । जात्राका क्रममा भातको देउता बनाएर टुँडालदेवीमा लगिने विधि भने पूरा भइसकेको छ । भाटभटेनी जात्रा काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि सम्बोधन गरिन्छ । 

 यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गरी मन्दिरबाट बाहिर निकाल्ने गरिन्छ । यो जात्रा सुरु भएको सम्बन्धमा एउटा कथा प्रचलित छ । धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो तालअर्थात् हाल गहनापोखरी भएको स्थानमा गएछन् । स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ । त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नुका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ । त्यसै समयदेखि हराएको गहना खोज्न यो जात्रा सुरु भएको विश्वास गरिन्छ ।