२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीमा निरन्तर छलफल चलाउन नेतृत्वलाई सुझाव दिएको छ ।
इतरसमूहका तर्फबाट पत्रकार सम्मेलन गर्दै नेता प्रकाशशरण महतले एकाध भेट घाटबाट मात्रै पार्टीमा एकता नहुने भन्दै निरन्तर छलफल हुनुपर्नेमा जोड दिए ।
उनले अहिले कांग्रेस चुनौतीपूर्ण घडीमा रहेको बताउँदै पार्टीभित्र बृहत्तर एकता आवश्यक रहेको बताए । प्राविधिक रूपमा विषेश महाधिवेशनबाट नेतृत्वमा आएकाहरूको एकताका लागि गम्भीर पहल गर्नुपर्ने बताएका छन्।
साथै कांग्रेसको संस्थापनइतर समूहले कांग्रेसको बृहत्तर एकताका लागि तीनबुँदे प्रस्ताव समेत अघि सारेको छ ।
महतले १४औँ महाधिवेशनबाट निर्वाचित समिति र विशेष महाधिवेशनबाट आएको समितिबीच समझदारी गरेर १५औँ महाधिवेशनका लागि नयाँ संयन्त्र बनाउने, क्रियाशील सदस्यताको विवाद मिलाउने र विधान संशोधनमा साझा सहमति गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
उनले अहिले आफूहरूले कुनै किसिमको पद र भागबन्डा नमागेको पनि बताए । १५औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितताको ग्यारेन्टी मात्रै आफूहरूले चाहेको उनको भनाइ छ ।
महतले विशेष महाधिवेशनबाट आएको समिति पार्टीमा सर्वशक्तिमान हुन नसक्ने भन्दै १५औँ महाधिवेशनपछि आउने समिति मात्रै सर्वस्वीकार्य हुनसक्ने बताए ।
महतले सदस्यताको डिजिटल नवीकरकणका नाममा वर्षौंदेखि पार्टीमा काम गरेका नेता तथा कार्यकर्ताहरूलाई बन्देज लगाउन नहुने बताए । सदस्यता नवीकरण यसअघि नै भइसकेकाहरूलाई फेरि डिजिटलका नाममा छुटाउन नहुने उनले बताए





