कर्णाली प्रदेश

उपमहानगरपालिका बनाउन पूर्वाधारको विकास गर्ने

१७ वैशाख, कर्णाली । नेकपा (एमाले)ले वीरेन्द्रनगर नगरपालिकाको निर्वाचन प्रतिबद्धतापत्र–२०७९ सार्वजनिक गरेको छ ।

नगर कमिटीद्वारा आज आयोजित कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल, नगर प्रमुख÷उपप्रमुखका उम्मेदवारद्वय मोहनमाया ढकाल र नीलकण्ठ खनालले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन । 

‘स्थानीय सरकार एमालेको साथमा, विकास र समृद्धि जनताको हातमा’ भन्ने नारा साथ एमाले वीरेन्द्रनगर नगर कमिटीले १९ पेज लामो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । एमालेबाट वीरेन्द्रनगरको प्रमुखमा निर्वतमान उपप्रमुख मोहनमाया ढकाल र उपप्रमुखमा निर्वतमान वडा नं ४ का अध्यक्ष नीलकण्ठ खनाल उम्मेदवार छन । 

प्रतिबद्धतापत्रमा उपत्यकाको खानेपानी समस्या समाधान गर्न तीन वर्षभित्र भेरी लिफ्टिङ आयोजना सम्पन्न गर्ने, सिटी बसपार्क बिस्तार गर्ने, वैकल्पिक बसपार्क निर्माण गरिने, नगर बस सञ्चालन गर्ने, उपयुक्त स्थानमा सुर्खेत विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने, अतिक्रमित सार्वजनिक जग्गा फिर्ता लिने, पार्किङ क्षेत्र व्यवस्थापन गर्ने, उपमहानगरपालिका बनाउन आवश्यक स्रोत तथा भौतिक पूर्वाधारको विकास गर्ने उल्लेख छ । 

एमालेले प्रतिबद्धतापत्रमा नगर अस्पताललाई महिला तथा बालबालिका विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति गर्ने, मनोरोग तथा दुव्र्यसनीमा फसेका नागरिकलाई ध्यानयोग तथा परामर्शकेन्द्र सञ्चालन गर्ने, गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स–रे, निःशुल्क एम्बुलेन्स सेवा, सबै महिलालाई निःशुल्क सेनेटरी प्याड कार्यक्रमलाई निरन्तरता दिने, ज्येष्ठ नागरिकका लागि घरघरमा स्वास्थ्य जाँच, असहाय तथा विपन्नलाई निःशुल्क कानूनी सेवा, वातावरण तथा विपद् व्यवस्थापन क्रियाकलाप, कृषि उत्पादन र रोजगारी सिर्जना, सहरी सौन्दर्य तथा पर्यटन क्षेत्र, भूउपयोग नीतिलाई प्राथमिकतामा राखेको छ । 

त्यस्तै प्रदेशकै गौरवका रुपमा रहेको काँक्रेविहार संरक्षण क्षेत्रलाई थप विकास गर्ने, कृषि उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने, सामूहिक पशुपालन नीतिलाई प्रोत्साहन गर्ने, ‘एक घर, दुई बिरुवा हामी आफैँ कुरुवा’ भन्ने मूल नारालाई कार्यान्वयन गर्ने प्रतिबद्धतापत्रमा जोड दिइएको छ । प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले कर्णाली प्रदेश इञ्चार्ज कँडेलले उम्मेदवारले निर्वाचित भए पनि चुनावी प्रतिबद्धतापत्रलाई गोजीपात्रो सम्झेर काम गर्न आग्रह गरे । 

प्रदेश राजधानी रहेको नगरपालिका वीरेन्द्रनगरमा ६७ हजार ५७ मतदाता छन् । स्थानीय तह निर्वाचन २०७४ मा नगर प्रमुखमा कांगे्रसका देवकुमार सुवेदी र नगर उपप्रमुखमा एमालेका मोहनमाया ढकाल निर्वाचित भएका थिए । त्यस्तै १६ वडामध्ये एमालेले नौ, कांगे्रसले छ र माओवादी केन्द्रले एक वडामा वडाध्यक्ष जितेका थिए । 

यसपटक वीरेन्द्रनगरमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच तालमेल बनेको छ । कांगे्रसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पदमा तालमेल गरी संयुक्त चुनावी अभियानमा होमिएका छन् । कांग्रेसबाट प्रमुखमा नगर सभापति उपेन्द्र खड्का र माओवादी केन्द्रबाट उपप्रमुखमा शान्ति ढकाल उम्मेदवार छन ।