समाचार

बूढानीलकण्ठमा नौ वडाको मतगणना, प्रमुख र उपप्रमुखमा एमालेको अग्रता


३ जेठ, काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । केहीबेर अगाडि नौवटा वडाको मतगणना सम्पन्न हुँदा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले छ हजार ९८६ मत ल्याएर अग्रता लिएका निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिए।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद चालिसेले छ हजार ६०९ मत ल्याएका छन् । उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो । यस्तै, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार अनिता लामाले सात हजार ४०० मत ल्याई अग्रता लिएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेवार रमिला वाग्लेले छ हजार ९९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।

वडा नं ९ को वडाध्यक्षमा एमालेका सुमित्रा त्रिपाठी पाण्डे विजयी भएकी छिन् । अध्यक्ष पाण्डेले ९४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका गणेशकुमार कोइरालाले ८७५ मत प्राप्त गरे । वडा नं ९ को खुला सदस्यमा कांग्रेसका रमेशकुमार गौतम र श्याम कार्की, महिला सदस्यमा कांग्रेसकी शान्ति पाण्डे र दलित महिला सदस्यमा सुमी परियार विजयी भएका निर्वाचन अधिकृत भट्टराईले बताए । कूल ४८ हजार ३०४ मतदाता रहेको नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । नगरपालिकामा १३ वडा छन् ।