गण्डकी प्रदेश

बेनीको नगरप्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी


३ जेठ, म्याग्दी । बेनी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

नगरप्रमुखमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने पौडेलले सात हजार ७३ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए । प्रमुखमा नेपाली कांग्रेसका चिरञ्जीवी शर्माले छ हजार २३० र उपप्रमुखमा एमालेकी पशुपति शाहीले पाँच हजार ५०० मत पाएका छन् । 

बेनीको नगरप्रमुख, उपप्रमुख र पाँच वटा वडामा कांग्रेस र माओवादीले तालमेल गरेर साझा उम्मेदवार बनाएका थिए । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा २१ हजार ८४२ जना मतदाता रहेको बेनी नगरपालिकामा ६९.६४ प्रतिशत अथवा १५ हजार २११ मत खसेको थियो । १० वटा वडा रहेको बेनीको ५२ पदका लागि १५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । 

एमालेले पाँच, कांग्रेसले तीन र माओवादीले दुई वटा वडाको अध्यक्ष जितेका छन् । वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा, दुईमा कांग्रेसका यामबहादुर कार्की, ३ मा माओवादीका पदम पुन, ४ मा माओवादीका भगवान खड्का, ५ मा एमालेका गोविन्द बानिया, ६ मा एमालेका कृष्णसिंह बानिया, ७ मा कांग्रेसका रमेश श्रेष्ठ, ८ मा एमालेका उत्तमकुमार कर्माचार्य, ९ मा कांग्रेसका चक्र केसी र १० मा एमालेका मसविर रोका वडाध्यक्षमा निर्वाचित भएका छन् ।