४ जेठ, वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका छन् । अध्यक्षमा विजयी भएका तिवारीले नेकपा (एमाले)का चीनमाया गुरुङलाई एक हजार ९४४ मतान्तरले पछि पारेका निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिए ।
तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा गुरुङले तीन हजार ३४७ मत ल्याए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गुरुङ उपप्रमुखमा विजयी भएका थिए। त्यस्तै उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी भएकी छिन् । गुरुङले एमालेका टङ्कप्रसाद खनाललाई एक हजार ६० मतले पराजित गरेका छन् । गुरुङले चार हजार ८२७ मत ल्याउँदा खनालले तीन हजार ७६७ मत प्राप्त गरे।
छवटा वडा रहेको अर्जुनचौपारी गाउँपालिकाको १, २, ३, ४, ५ नं वडामा कांग्रेस, वडा नं ६ मा एमाले विजयी भएको निर्वाचन अधिकृत पौडेलले बताए । कूल १३ हजार ८६७ मतदाता रहेको अर्जुनचौपारीमा ६५.८१ प्रतिशत मत खसेको थियो । पुरुष चार हजार १९८ र चार हजार ९२८ महिला गरी कूल नौ हजार १२६ मत खसेको थियो ।





