प्रदेश 2

आगलागीबाट छ घरमा क्षति

१३ जेठ, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा छ वटा घरमा क्षति पुगेको छ । आगलागीका कारण महेन्द्र कामैत, शङ्कर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्णरुपमा क्षति भएको छ ।

आगलागीबाट गाउँबस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको छिन्नमस्ता गाउँपालिका–५ का वडाध्यक्ष जयप्रकाश ठाकुरले बताए । उनका अनुसार गुहाली घरबाट सल्केको आगो बिहान ३ बजे महेन्द्रले थाहा पाएर गुहार मागेपछि करिब तीन घण्टाको प्रयासमा स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

चौपायालाई लामखुट्टेबाट जोगाउन बालिएको घुरबाट आगो सल्किएको महेन्द्रले बताए । आगलागीबाट मानवीय क्षति नभए पनि दुई खसी र दुई बाख्रा जलेर मरेका छन् ।

आगलागीका कारण ती परिवारको घर र गोठसहित लत्ताकपडा, फर्निचर, अन्नपात, भाँडाकुँडा जल्दा रु २३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बारुणयन्त्र पुग्ने बाटो नभएकाले बढी क्षति भएको भरत कामैतले बताए ।