कर्णाली प्रदेश

जो मजदुरी गर्दागर्दैै मालिक भइन्

वीरेन्द्रनगर

१९ जेठ, वीरेन्द्रनगर । सङ्घर्षबाटै सफलता प्राप्त हुन्छ । सङ्घर्षलाई निरन्तर अगाडि बढाएमा सफलता प्राप्त गर्न असम्भव पनि छैन भन्ने कुरालाई जीवनमा चरितार्थ गरेर देखाएका छन, वीरेन्द्रनगर वडा नं १२ की नन्दा नेपाली (राना)ले । जीवनमा धेरै आरोह–अवरोह पार गर्ने क्रममा पीडा, अवहेलना पनि सामना गर्नुपर्दा सङ्घर्ष गरेरै सफल उद्यमी बनेकी नन्दाले अहिले विपन्न परिवारका महिलालाई रोजगारीसमेत दिँदै आएका छन ।

दैलेखमा जन्मिएरै हुर्किएकी उनले कर्मघर भने दाङ रोजे । दलितकी छोरी रानाका छोरासँग प्रेम विवाह गरेका कारण नन्दालाई घरबाट अस्वीकार गरियो । सामान्य परिवारकी छोरी उनलाई दाइजो नल्याएको निहुँमा घरपरिवारले अपहेलना गर्थे । “पहिलो कुरा अन्तरजातीय विवाह, त्यसमाथि दाइजो पनि नल्याएकाले घरमा राम्रो मान्ने कुरा नै भएन”, नन्दाले भने, “घरमा बस्न नसक्ने अवस्था नभएपछि हामीले घरै छाडेर हिड्यौ ।”

नन्दा र उनका श्रीमान्ले सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा बसेर मजदुरी गर्न थाले । “कहिले घर बनाउने ठाउँमा काम गरेँ कहिले इँटा बोक्ने र गिट्टी बालुवाको काम गरेँ” उनले भने , “साँझ र बिहानको हातमुख जोड्न पनि नसकिने अवस्था थियो, साथ दिने आफन्त कोही थिएनन् ।” दिनभरि काम गरेवापत रु ३०० देखि ३५० सम्म पाउने गरेको नन्दाले बताए ।

भोक र तिर्खा सहेरै पनि नन्दा मजदुरी गर्थे । उनका श्रीमान् भारत कमाउन जान्थे तर पनि दुवै जनाको कमाइले गुजरा चलाउनै धौधौ हुन्थ्यो । नन्दालाई लाग्थ्यो अरु पेशा गर्न पाए गुजरा सजिलै चलाउन सकिन्छ कि । मजदुरी गरेको पैसा पनि खाना खर्च कटाएर बचाउने गएकी उनले सिलाइकटाइ तालिम लिएपछि कपडा सिलाउने उपकरण किने । यो कामले पहिलाको भन्दा केही राहत भएको नन्दालाई अनुभूति हुँदै गयो । सिलाइकटाइ गर्न थालेपछि छोरा छोरीलाई पढाउन लेखाउन अलि सहज भयो ।

व्यवसायमा सफलता प्राप्त हुँदै गएपछि त्यसलाई बढाउन मन लाग्यो उनलाई । नन्दाले विसं २०६७ मा विनिता होजियारी व्यवसाय दर्ता गरेर व्यवसाय गर्दै आएका छन । उनले त्यहाँ अडरका विभिन्न डिजाइन, लेडिज र जेन्सको लागि स्वीटर, ड्रेसका स्वीटर, महिलाले लगाउने प्लाजोलगायत पोशाक तयार गर्दै आएका छन । उनले तयार पारेका पोशाक अहिले सुर्खेतका बजार, दैलेख र नेपालगञ्जसम्म पुग्ने गर्दछ । “अहिले हामीले तयार गरेको सामानको बजारमा एकदमै बढी माग भइरहेको छ, पु¥याउनै भ्याइनभ्याइ छ”, नन्दा भन्छन, “बजारमा जति सामानको माग भएको छ, त्यसअनुसार पु¥याउन सकिएको छैन ।”

उनलाई अहिले वीरेन्द्रनगर नगरपालिकाले दुईवटा ठूला होजियारी उपकरण सहयोग गरेपछि व्यवसाय पनि बढेको छ । महिला स्वरोजगार कार्यक्रमअन्तर्गत नन्दालाई उक्त उपकरण सहयोगस्वरुप उपलब्ध गराइएको नगरपालिकाका महिला तथा बालबालिका शाखाका ज्योति केसीले बताए ।उनले विभिन्न पसलमा होलसेल मूल्यमा सामान पठाउँदै आएका छन । अहिले व्यवसायमा नन्दा र श्रीमान् दुबैले काम गर्दै गर्दा नभ्याएपछि थप तीन कामदारसमेत राखिएको छ । “हामीले मात्र व्यवसाय धान्न सकेनौ अहिले तीन महिला पनि राखेकी छु”, नन्दाले भने, “उनीहरु पनि आर्थिक अवस्था कमजोर भएका दीदीबहिनी हुनुहुन्छ, विगतमा आफैँले पनि धेरै दुःख पाएकाले यस्तै दुःख पाएका महिलालाई काम गर्न राखेको हुँ ।”

पहिले काम काम खोज्दै हिँड्ने उनी अहिले मासिक रु डेढ लाखभन्दा बढीको कारोबार गर्ने गरेको बताउछन । “पहिले दिनभरि काम गरेको रु ३०० बुझ्थे त्यही काम पाउन पनि धौधौ थियो”, नन्दा भन्छन, “अहिले अन्य दिदीबहिनीलाई पनि रोजगार दिन पाएकी छु ।” आजभोलि नन्दाका श्रीमान् पनि खुसी देखिन्छन । कमाउनका लागि बारम्बार भारत जाने गरेका उनले अहिले घरमै व्यवसाय गरेर राम्रो आम्दानी गरेका छन । त्यति मात्र होइन, यही व्यवसायको आम्दानीबाट नन्दाले घर र जग्गा पनि किनेका छन ।

व्यवसाय अझै बढाउने सोचमा छन उनी । “यो व्यवसायलाई अझै ठूलो बनाएर धेरै दीदीबहिनीलाई तालिम दिने र यही रोजगार दिने सोच छ”, नन्दाले भने, “जसलाई साँझबिहान दुःख गरेर गुजारा गर्न समस्या भएको छ, उहाँहरूलाई यहाँ रोजगारी दिने हो ।” महिला आर्थिकरूपमा सक्षम भएपछि हिंसा नहुने उनको बुझाइ छ । आफूसँग भेटिने जो–कोही महिलालाई पनि नन्दा आर्थिक आयआर्जनमा लाग्न सुझाव दिन्छिन । “महिला हिंसाको मुख्य कारण भनेकै महिला आफू आर्थिकरूपमा सक्षम नहुनु रहेछ । जुन कुरा मैले आफ्नै जीवनमा भोगे”, उनले भने, “पहिले दाइजो नल्याएको भनेर हेप्ने घरपरिवारको अहिले ममाथिको दृष्टिकोण फरक छ ।”

पहिले रु २० हजार लगानीबाट सुरु गरेको व्यवसाय लाखौँको कारोबार गर्न सफल हुँदा नन्दा आफै दङ्ग छन । “पहिला त्यति रकमबाट सुरुआत गरेको व्यवसाय यति राम्रो हुँदा आफैँलाई अचम्म लाग्छ”, उनले भने, “उहिले एक पोका नुन किनेर खान सकिँदैनथ्यो, दिने पनि कोही थिएनन्, अहिले त हाम्रोमा आएर एक छाक खाना खाएर जानुप¥यो भन्ने धेरै हुन्छन् । यति फरक हुँदोरहेछ ।”यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल महिला स्वरोजगार कार्यक्रमबाट नगरका धेरै महिला व्यवसाय गरेर आत्मनिर्भर बनेको बताउछन । “महिला स्वरोजगारअन्तर्गत कतिपयले अटो चलाएका छन, कतिले ढाका बुनाइ, सिलाइकटाइजस्ता तालिम लिएर व्यवसाय सुरुआत गर्नुभएको छ”, उनी भन्छन, “स्वरोजगार कार्यक्रमबाट महिलाले राम्रो सफलता प्राप्त पनि गर्नुभएको छ ।”