कर्णाली प्रदेश

जुम्ला जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते

२४ जेठ, कर्णाली । नेपाली कांग्रेसले गौरीनन्द आचार्यलाई जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा सिफारिस गरेको छ । उनी चन्दननाथ नगरपालिका–१ का वडा सदस्य हुन ।

कर्णाली प्रदेश संसदीय समितिको निर्णयानुसार आचार्यलाई कांग्रेसले जुम्ला जिल्लाको समन्वय प्रमुखको उम्मेदवारमा सिफारिस गरेको कांग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले जानकारी दिए। जिल्लाका आठ स्थानीय तहमध्ये कांग्रेस एक्लैले पाँच स्थानीय तहमा अध्यक्ष र एक उपप्रमुखसहित दुई उपाध्यक्ष जितेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) ले दुई पालिकामा अध्यक्ष र तीन उपाध्यक्ष जितेको छ । नेकपा ( एकीकृत समाजवादी ) ले एक उपाध्यक्ष जितेको छ । चन्दननाथ नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मतदाताका हिसाबले जुम्ला जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्काजस्तै छ ।

जिससको नयाँ नेतृत्व चयनका लागि यही जेठ २९ गते निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए। वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा जुम्लामा माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख र कांग्रेस उपप्रमुखको नेतृत्व गरेको थियो ।