३० जेठ, काठमाडौँ । सडकमा भारी बोकेर जीविकोपार्जन गर्नेको श्रमिक अधिकार सुरक्षित गर्न नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय सम्मेलन प्रतिनिधिले माग गरेका छन् । सम्मेलनमा महासचिव योगेन्द्रकुमार कुँवरले पेश गरेको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष मोहनकुमार बस्नेतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथिको छलफलका क्रममा मजदुर सङ्घका काठमाडौँ अध्यक्ष कुमार ढुङ्गेलले सडकमा भारी बोक्नेले बिरामी हुँदा स्वास्थ्य उपचार गर्न नसक्ने अवस्था रहेकाले संविधानमा व्यवस्था गरिएको मौलिक अधिकार सुरक्षित गर्न माग गरेका हुन् ।
नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिम प्रदेशका अध्यक्ष शान्ति सिंहले महिला स्वास्थ्यकर्मीले रु दुई हजार, तीन हजार र छ हजारसम्ममै स्वास्थ्य सेवा दिनुपर्ने अवस्थालाई सुधार गर्न माग गरे । दिनभर काम गरेर पनि न्यूनतम पारिश्रमिकसमेत नपाउने अवस्था सुधार गरिनुपर्ने उनको माग थियो ।
ललितपुरका अध्यक्ष कमलकुमार विष्टले कोरोनाकालमा जागिर गुमाउने श्रमिकको रोजगारीको ग्यारेन्टी गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल शिक्षक सङ्घ रौतहटका अध्यक्ष रामकृपाल यादव, नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोकका सचिव हरिश्चन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका श्यामराज सुवेदी, नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घका उपाध्यक्ष प्रमिला ढुङ्गाना, ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालालगायतले मजदुर वर्गको आधारभूत आवश्यकता पूरा हुने गरी कानूनी व्यवस्था गरी कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मजदुर फाँटमा लामो समय राजनीति गरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका रमा पौडेल, हरिशरण नेपाली, अजयबाबु शिवाकोटी, सुशीला मिश्र भट्ट, माथिल्लो सदनमा सांसद निर्वाचित भएका कृष्णप्रसाद पौडेल, भूमि आयोगका अध्यक्ष केशव निरौला, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँर, नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको एसिया प्यासिफिक सदस्य निर्वाचित भएका नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायतलाई सम्मानसहित स्वागत गरिएको थियो ।
देशभरका करिब दुई हजार प्रतिनिधिको सहभागिता रहेको सम्मेलन आज बेलुकी समापन गरिने जनाइएको छ । सम्मेलनले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गर्नेछ ।





