बाग्मती

मातृशिशु स्वास्थ्य जाँच र पोषण खाद्यान्न वितरण

७ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मीसहित सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्न पोषण कोसेलीसहित भेटघाट कार्यक्रम सुरु गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख मीना लामाले महिला तथा तथा बालबालिकालाई प्राथमिकतामा राखेर उक्त कार्यक्रमको सुरुवात गरेको  छ । उपमहानगरप्रमुख लामाका अनुसार  गर्भवती महिलाको स्वास्थ्य जाँच तथा आमा र बच्चाको स्वास्थ्य अवस्था पहिचान गर्न नगर क्षेत्रका सम्पूर्ण गर्भवती महिलालाई कम्तीमा एक पटक निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । भिडियो एक्सरे सेवाबाट हालसम्म ९६ गर्भवतीले सेवा लिएका छन् । 

यस्तै, उपमहानगरपालिकाको समेत समन्वय र सहयोगमा हेटौँडा अस्पतालमा सुरु गरिएको मिर्गौला डायलासिस सेवा हेटौँडा अस्पतालमा चालु रहेको बताइएको छ । हाल सो केन्द्रमा आठवटा डायलासिस मेसिन खरिद गरिएको तथ्याङ्कमा उल्लेख छ । प्रमुख लामाले हेटौँडा उपमहानगरले सीमान्तकृत, लोपोन्मुख समुदाय र आर्थिकरुपमा अतिविपन्न १२८ परिवारको स्वास्थ्य बिमासमेत गरिदिएको जनाए ।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिकाले आधारभूत तथा आकस्मिक सेवाको सुनिश्चिताको लागि नगरका सम्पूर्ण स्वास्थ्य संस्थामा नेपाल सरकारद्वारा निःशुल्क वितरण गर्ने औषधि सहज र सरलरुपमा उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ । दीर्घ तथा नसर्ने रोगबाट घरमै ओछ्यानमा थलिएर रहेका बिरामी व्यक्तिलाई लक्षित गरी प्रत्येक वडामा रहेका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको परिचालनबाट उपचार र सहयोगको कार्यक्रम सञ्चालन गरिदै आएको जनाइएको छ । जसबाट हालसम्म १६ जना सेवाग्राहीले सेवा पाएका छन् ।

महिलामा बढ्दो क्रममा रहेको स्तन तथा पाठेघर क्यान्सरजस्ता घातक रोगको पहिचानका लागि आर्थिक वर्ष २०७८/०७९ मा नगरको तीन स्थानमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । हेटौँडाको हर्नामाडी स्वास्थ्यचौकी, ज्यामिरे सहरी स्वास्थ्य केन्द्र, हटिया सहरी स्वास्थ्य प्रवद्र्घन केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविरमा ३७० महिलाहरुले सेवा लिएका थिए । उपमहानगरपालिकाको वडा नम्बर १, ४, ५, १० मा भवन निर्माण कार्य भइरहेको छ भने वडा नम्बर ९ मा जग्गा प्राप्तिमा ढिलाइको कारण निर्माण कार्य सुरु हुन सकेको छैन ।

स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउन र आधारभूत स्वास्थ्य सेवाको पहुँच अभिवृद्घि गर्न इ–रिपोर्टिङ सिस्टमको विकास गरिएको छ । हाल हटिया स्वास्थ्यचौकी र नागस्वती सहरी स्वास्थ्य केन्द्रमा यस कार्यक्रमको परीक्षण भइरहेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।