प्रदेश 1

डा. संग्रौलाको संसदमा धारणाः १ नं. प्रदेशको मुटुको रुपमा रहेको बिराटनगरको साख कसरी जोगाउँने ?

९ असार, काठमाडौं । नेपाली काँग्रेसकी सहमहामन्त्री डा डिला संग्रौलाले हिमाल पहाड र तराईको संगम स्थलको रुपमा प्रदेश नं. १ रहेको र विश्वलाई चिनाउने सगरमाथा, कंचनजंघा जस्ता हिमशिखर र किराँत धर्मालम्वीहरुको थातथलो एवं सम्बृद्धि र बिकासका थुप्रै संभावनाहरु बोकेको यो प्रदेशले बिकासमा फड्को अझै लिन नसकेको बताएकी छन् ।
उनले यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक, पर्यटन, कृषिजन्य वस्तुको उत्पादन र उद्योग व्यापारका क्षेत्रमा विकास गरी आत्मनिर्भर हुने अर्थ व्यवस्था बनाउन सकिने बताउँदै जलश्रोत, वन जंगल, जडीबुटी विभिन्न सम्पदाहरुको प्रशस्त संभावना भएको हुनाले १ नं. प्रदेशलाई १ नं. कै मोडलको रुपमा विकास गर्न सरकारसँग अनुरोध गरेकी छन् ।

प्रदेशको राजधानीको रुपमा रहेको बिराटनगर एक राजनैतिक, औद्यौगिक, एवं शैक्षिक हबको रुपमा चिनिएको र सुपरिचित बिराटनगरलाई आफ्नो साख जोगाउन कठिन रहेको धारणा राख्दै विद्यमान समस्याको हल गर्नका लागि बिराटनगर महानगर र प्रदेशको बजेटले मात्र सम्भव नभएकाले केन्द्रको दुरदृष्टि पुग्न जरुरी भएको बिचार ब्यक्त गरेकी छन्

उनले आज संसदमा बोल्दै भनेकी छन्, ‘बिराटनगर औद्योगित साख फिर्ता गर्ने ठुलो चुनौती छ । प्रजातान्त्रिक आन्दोलनको जग बसालेको हिजो मिल्स एरिया भनेर पहिचान बनेका ठाउँमा अहिले उद्योग चल्दैन खण्डहर बनेका छन् । मुलुकको पहिलो उद्योग जुटमिल बन्द छ । त्यहाँका मजदुर एवं कामदारहरु बिचल्लीमा छन् । औद्यौगिक करिडोरको रुपमा परिचित बिराटनगरका उद्योगीहरु विषेश गरि सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण सुनसरी मोरङ्ग करिडोरका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग बचाउन सरकारले विषेश योजना संचालन गर्नुपर्दछ । कृषि अग्रणी प्रदेश भएर पनि कृषिमा आधारित उद्योग संचालन नहुँदा प्रदेशको ग्राहस्थ उत्पादनमा समेत कृषि क्षेत्रको योगदान घट्दो अवस्थामा पुगेको छ । युवालाई नव प्रविधिमा अधारित कृषि उद्यममा जोड्नु पर्दछ ।’
उनले प्रजातन्त्रीक आन्दोलनको शंखघोष गर्ने हड्ताली हाट सुनसान भएको र यस क्षेत्रको उचित संरक्षण गरि नयाँ पुस्तालाई बिराटनगरमा उठेको राजनितिक आन्दोलनबारे जानकारी दिन हड्ताली हाटलाई खुला संग्रहालयको रुपमा बिकास गरिनु पर्ने बिचार ब्यक्त गरेकी छन् ।
बिराटनगर विमानस्थलको स्तरोउन्नतिका लागि काम थालिनु पर्ने भन्दै रोकिएको टर्मिनल भवनको निर्माणको प्रक्रिया तुरुन्त सुरु हुनु पर्ने बताएकी छन् । उनले जग्गा रोक्का भई लामो समय देखि मुआब्जा नपाएका र सडक संघर्षमा उत्रिएका स्थानीयको माग तुरुन्त पुरा गरिनु पर्ने पनि उनको तर्क छ ।

उनले बिराटनगरमा बाढी र ढुवानको समस्या दिर्घकालीन रुपमा समाधान गर्न सिंघिया, केसलिया तटबन्धन र ग्रीनवेल्टको कामलाई अघि बढाउन आवश्यक रहेको बताएकी छन् ।

डा संग्रौला भन्छिन्, ‘बिराटनगरमा पछिल्लो समय निर्माण भएका सडक नाला तथा सार्वजनिक सम्पतीको संरक्षणमा जनसहभागिता सहित काम अगाडी बढाउन पर्दछ । फोहोर व्यवस्थापनलाई प्रभावकारी ढंगले अगाडी बढाउँदै ल्याण्डफिल साइड संचालन गर्न पर्दछ । कोशी अस्पताललाई प्रादेशिक स्तरमै गुणस्तरीय सेवा प्रदान गर्न सक्ने गरी स्तरउन्नतीको कामलाई गति दिन आवश्यक छ ।’

उनले ध्यानाकर्षण गराउँदै भनेकी छन्, ‘पछिल्लो समय प्रदेश नं. १ मै बलात्कारको घटना बढेको पाइएको छ । बालिका समेत अपराधको सिकार बनिरहेका छन् । मोरङ्गमा बढ्दो बलात्कारको घटनाको सुक्ष्मअध्ययन गरी दोषीलाई कडा भन्दा कडा कार्यवाही गरिनु पर्दछ । खुल्ला सिमानाका कारण चेलिबेटि बेचविखन लागुऔषध दुव्र्यसन पनि बढ्दो अवस्थामा छ । यी सबैको न्युनीकरण गरि समाधान गर्न सरकारको ध्यानकार्षण गर्दछु ।’

डा संग्रौलाले भनिन्, ‘पौराणिक कालको बिराट राजाको दरवार पुरातात्विक उत्खनन्बाट प्रमाणीत भईसकेको छ । यसको भग्नावषेशको संरक्षण र संवर्धण गरि पर्यटकिय स्थलको रुपमा बिकास गरिनु पर्दछ ।
पुर्वाञ्चल विश्वविद्यालयलाई समय सापेक्ष सुधार गर्दै एमविविएसको पढाईलाई संचालन गर्न सरकारसँग अनुरोध गर्दछु ।’