बाग्मती

नेपाल प्रहरी र परिवारलाई चितवन मेडिकल कलेजमा २५ प्रतिशत छुट

११ असार, चितवन । नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)बीच सम्झौता भएको छ । नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरीका परिवारका सदस्यलाई अस्पतालमा २५ प्रतिशत छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा डा दयाराम लम्साल र सङ्घका तर्फबाट अध्यक्ष कुसुमलता सिंहले हस्ताक्षर गरेका छन् । प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी, अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटालगायतको उपस्थितिमा भएको सम्झौतामा उपचार सेवामा २५ प्रतिशत र फार्मेसीमा सात प्रतिशत छुट दिने उल्लेख छ ।

सम्झौताअनुसार नेपाल प्रहरी र पूर्वप्रहरीसहित उनीहरूका परिवार तथा अमर प्रहरीका परिवारले सङ्घले उपलब्ध गराएको परिचयपत्रका आधारमा सो मेडिकल कलेजमा उपचार गराउँदा यो सुविधा पाउनेछन् ।

सम्झौताअनुसार सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचारलगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता हुने उपचारमा भने यो सम्झौता लागू हुने छैन । यसैगरी नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरूलाई पनि यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बताए । अस्पतालमा बहिरङ्ग (ओपिडी) र आकस्मिक (इमर्जेन्सी) टिकट लिएपछि मात्रै यो सम्झौता लागू हुने देवकोटाले जानकारी दिए ।

सङ्घका अध्यक्ष सिंहले सङ्घले नेपालका कुनै पनि क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दा अस्पतालले चिकित्सकसहितको प्राविधिक सहयोग गर्ने सम्झौता भएको बताए । उनले यो सम्झौताले नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारलाई उपचारमा सहज हुने बताए । उनले अस्पताल परिवारलाई धन्यवादसमेत दिए ।

सङ्घले नेपालमै पहिलोपटक चितवन मेडिकल कलेजसँग यस्तो सम्झौता गरेको अध्यक्ष सिंहले बताए । नेपालका जुनसुकै ठाउँमा रहेर पनि सङ्घले उपलब्ध गराएको परिचयपत्रसहित उपचारका लागि आएमा यो सुविधा उपयोग गर्न पाइने सिंहको भनाइ छ ।

यो सम्झौता आगामी साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नवीकरण गर्न सकिने जनाइएको छ । प्रमुख प्रशासक देवकोटाले नेपालको मध्यभागमा रहेर अत्याधुनिक उपकरणसहित अतिविशिष्ट सेवासमेत दिँदै आएको अस्पतालप्रति धेरैको विश्वास बढेको बताए । आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत र सरलीकृत गर्दै उत्कृष्ट सेवा दिँदै जाने प्रतिबद्धता उनले व्यक्त गरे ।