गण्डकी प्रदेश

बेँसीशहर–चामे सडकको स्तरोन्नति, कालोपत्र २३ प्रतिशत सम्पन्न


१२ असार, लमजुङ । मनाङ र लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकको स्तरोन्नति एवं कालोपत्र गर्ने कार्य २३ प्रतिशत सम्पन्न भएको छ ।

बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीशहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्नका लागि पहिलो चरणको कार्य हालसम्म सम्पन्न भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए ।

उनका अनुसार सडक चौडाइ गर्ने, पर्खाल उठाउने, कटिङ गर्ने, कल्भर्ट बनाउने, नाली बनाउने लगायतका काम भइरहेको छ । पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र मान्छे हिँड्ने उक मिटरको सडक चौडाइ हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फ मात्र नाली निर्माण हुने भएको छ ।

ट्याक खोलेको करिब २७ वर्षमा बेँसीशहर–चामे सडक कालोपत्र कार्य अघि बढेको छ । स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीशहरदेखि खुदीसम्म मोटरबाटोको ट्याक खोलेको यस खण्डमा यतिबेला कालोपत्रका लागि धमाधम काम भइरहेको हो ।

आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म कालोपत्र गर्ने गरी गत वर्ष असार ३० मा सम्झौता गरेर काम अघि बढाएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कूल रु ५२ करोड ९६ लाखको लागत अनुमान गरिएको उक्त सडक रु २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता गरिएको छ ।