लुम्बिनी

रुकुम(पूर्व) मा वर्सेनि धान खेती घट्दै


१४ असार, रुकुम(पूर्व) । रुकुम(पूर्व) मा धान खेती घट्दै गएको छ । पहिलेको तुलनामा पछिल्ला केही वर्षमा यस जिल्लामा धानखेती घटेको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम(पूर्व) ले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४÷७५ भन्दा अघि जिल्लाको ५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको थियो ।
कार्यालयका कृषि अधिकृत थलबहादुर बस्नेतका अनुसार पाँच वर्ष अघिसम्मको जिल्लाको तथ्याङ्कमा धान खेती भइरहेको क्षेत्रफल पाँच हजार ३७ दशमलव २८ हेक्टर थियो । अहिले जम्मा एक हजार ४१९ दशमलव ४२ हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको कृषि अधिकृत बस्नेतले बताए । पहिले जिल्लाको तीन वटै पालिकाको विभिन्न ठाउँमा हुने धानखेती अहिले दुई वटा पालिकामा मात्र सीमित रहेको छ ।

विगत केही वर्षयता पुथा उत्तरगङ्गा गाउँपालिकामा धानखेती हुन छोडेको छ । भूमे गाउँपालिकाको ३ नम्बर वडा सीमाको थोरै क्षेत्रमा मात्र धानखेती हुने गरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम(पूर्व)ले जनाएको छ । सिस्ने गाउँपालिको भने ३, ४, ५, ६, ७ र ८ नं वडामा धानखेती हुँदै आइरहेको छ । यी ठाउँको खेतमा पनि पहिलेको जस्तो धानखेती भने हुँदैन् । विस्तारै प्रायःमानिसले खेतलाई बाँझो छोड्दै गएका छन् ।

धानखेती हुने खेतमा अहिले मानिसले मकै रोपेका छन् भने नदी किनाराका खेत बगरमा परिणत भएका छन् । कतिपयले धानको ठाउँमा तरकारी खेती पनि गर्दै आएका छन् । जिल्लामा पहिलेको जस्तो धान खेती नहुँनु, सिँचाइ सुविधा नहुनु, युवाहरु कृषिमा आकर्षित नहुनु, वैदेशिक रोजगार र आम मानिस सहर केन्द्रित हुनुले पनि धानखेतीमा कमी आएको कृषि कार्यालयका कृषि अधिकृत बस्नेतले बताए । धान मात्र नभएर अन्यखेती प्रणालीमा पनि कमी आउँदै गएको उहाँको भनाइ छ ।

रुकुम(पूर्व) मा सावित्री, सुख्खा, स्थानीय र हाइब्रिड जातको धान खेती गरिँदै आइएको छ । रुकुम(पूर्व)को कूल खेतीयोग्य जमिन २० हजार २६५ हेक्टर क्षेत्रफल रहेको छ भने खेती भइरहेको जमिनको क्षेत्रफल १६ हजार ३७० हेक्टर रहेको छ ।