लुम्बिनी

बजेट विवाद चुलिँदा लुम्बिनी प्रदेश सभा अवरुद्ध, प्रतिपक्ष बाहिरियो

२१ असार, बुटवल। आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले बैठक बहिष्कार गरेपछि लुम्बिनी प्रदेश सभाको आइतबारको बैठक स्थगित भएको छ।

बजेटमाथिको सैद्धान्तिक छलफलका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक इन्द्रजित थारुले सरकारले प्रस्तुत गरेको बजेट विभेदपूर्ण रहेको आरोप लगाए। उनले विपक्षी दलका सुझावलाई बेवास्ता गरिएको र बजेटले जनताको वास्तविक आवश्यकता सम्बोधन गर्न नसकेको दाबी गरे।

सरकारले समावेशी र सन्तुलित बजेट ल्याउन नसकेको भन्दै प्रतिपक्षले बैठक बहिष्कार गर्ने घोषणा गरेपछि प्रमुख प्रतिपक्ष तथा अन्य विपक्षी दलका प्रदेश सभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए।

प्रतिपक्षी सांसदहरूको बहिर्गमनपछि सभामुख तुलाराम घर्तीमगरले सदनको अवस्था विचार गर्दै बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका छन्।

आजको बैठकको मुख्य कार्यसूची आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल गर्ने रहेको थियो।