१६ असार, काठमाडौं । सुनसरीको कोशी ब्यारेजमा कुनै खतरा नरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताएका छन् ।
पानीको बहाव बढेको र उच्च खतरा रहेको समाचार आईरहेका बेला सुर्यखबरले सोधेको प्रश्नको जवाफमा अहिले जम्मा २३ वटा ढोका खोलिएको र एक लाख ७३ हजार २५० क्युसेक पानीको बहाव रहेको जानकारी दिएका छन् ।
उनले सुनसरीमा डुवान भएको भन्दै कोशीको पानी बाहिर नआउने र नआएको दाबी गरेका छन् । कोशीको बाढीका कारण हजारौं पीडीत भई बिस्थापीत समेत हुनुपरेको अवस्था झेलेका सुनसरीबासी चिन्तित भइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारीले सकारात्मक जवाफ दिएका छन् ।
उनले बाढीबाट बच्ने उपाय अपनाउन र राहत तथा उद्दारका लागि प्रशासनले सकेको सबै उपाय अपनाउने बताए । बराहक्षेत्र नगरपालीकाको पटनाली–चक्रघट्टी–प्रकाशपुर–मधुवन क्षेत्र, क्षेत्रकोशी गाउँपालीका, कोशी गाउँपालीकाको पश्चिम क्षेत्रलगायतका कोशीको पुर्वी भागका जनतालाई कोशीको बाढीले प्रत्यक्ष त्रास उत्पन्न गर्ने गर्दछ ।





