लुम्बिनी

बैजनाथ गाउँपालिका कारागार भवन निर्माण अन्तिम चरणमा

१६ असार, नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित नौवास्तामा क्षेत्रीय कारागारको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।अत्याधुनिक सुविधासम्पन्न सो कारागारको विद्युत्, सिसीटिभि जडानलगायतका केही काम बाँकी रहेको र केही महिनापछि कारागार सञ्चालनमा आउने जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरले जानकारी दिए । चार युनिट रहेको कारागारमा दुई भवनमा २८ कोठा छन् । चिया, खाजा र पसल सञ्चालन गर्न एउटा वर्कसप हलसमेत निर्माण भएको छ ।

तीन हजार क्षमताका कारागारमा जिल्ला कारागारमा रहेका अधिकांश थुनुवा र धेरै थुनुवा रहेका कारागारबाट समेत उनीहरुलाई स्थानान्तरण गरिने जेलर उनले बताए । खासगरी रोल्पा, दैलेख, कास्की, रुपन्देही, अछामलगायतका जिल्लाबाट समेत बन्दी जीवन बिताएका उक्त कारागारमा स्थानान्तरण हुनेछन् ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कारागार छिट्टै सञ्चालन हुने जानकारी दिँदै नयाँ अत्याधुनिक कारागार बनेपछि बन्दीहरूलाई राहत हुने विश्वास व्यक्त गरे । दश बिघा क्षेत्रफलमा रु. ४१ करोडको लागमा निर्माण भइरहेको सो कारागार निर्माण भएपछि जिल्ला कारागारमा रहेका ७५६ मध्ये बिरामी थुनुवाबाहेक करिब ५०० थुनुवालाई क्षेत्रीय कारागारमा स्थानान्तरण गरिने जेलर सोनकरले जानकारीदिए ।

आर्थिक वर्ष २०७२/७३ बाट निर्माण सुरु हुने भनिएकामा निर्माण कम्पनीले काम नगर्दा क्षेत्रीय कारागारको निर्माणकार्य ढिलो भएको बताइएको छ । अब धेरै काम सम्पन्न भइसकेको छ, त्यसैले दशैँलगत्तै कारागार सञ्चालनमा आउँछ जिल्ला कारागारका जेलर सोनकरले भने । तीन सय ५० जनाको क्षमता भएको जिल्ला कारागार अहिले दोब्बरभन्दा वढी बन्दी हुँदा उनीहरुले सास्ती खपेका छन् ।