प्रदेश 1

प्रदेश नं १ : विनियोजन विधेयकमाथिको छलफल समाप्त

१६ असार, विराटनगर । विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको शीर्षकमाथिको छलफल आज समाप्त भएको छ । प्रदेश नं १ प्रदेशसभाको बैठकमा सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो ।

छलफलमा प्रदेशसभा सदस्य अमिरबहादुर गुरुङले ओखलढुङ्गामा यातायात व्यवस्था कार्यालयको सम्पूर्ण कार्य भएर पनि सेवा प्रवाह नभइरहेकाले यथाशीघ्र सेवा सुचार गर्नु पर्ने माग गरे । सदस्य कुलप्रसाद साँवाले एकले अर्कालाई गाली गरेर सदनको गरिमा गिर्ने भएकाले यसतर्फ सबैको ध्यानाकर्षण गराउँदै बहुवर्षीय योजनाअन्तर्गत धेरै योजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्न बजेट विनियोजन भएकोमा खुशी व्यक्त गरे ।

सदस्य कुसुमकुमारी श्रेष्ठले बजेटमा प्रादेशिक लोकमार्ग सम्पन्न गर्न बजेट विनियोजनसँगै जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा दुई हजार ४०० घर निर्माण गर्न बजेट व्यवस्था भएकाले बजेटको समर्थन गरे । सदस्य बलबहादुर साम्सोहाङले बजेटमा एक हजार ६०० योजना समेटिएको भए पनि ताप्लेजुङमा ५० वटा मात्र योजना परेको गुनासो गरे ।

सदस्य बसन्तीदेवी यादवले व्यवस्थित बाटो नबनेकै कारण सहर र गाउँ डुबान परेको जनाउँदै सहरमा सरकारले उचित पार्किङको व्यवस्थामा ध्यान दिनुपर्ने भने । सदस्य वीणादेवी राईले धनकुटाको राजारानीमा शहीद पार्क निर्माण गर्न बजेटको माग गरे । बुद्धिकुमार राजभण्डारीले बिरालो बाँधेर श्राद्ध गर्ने बानीको अन्त्य हुनुपर्ने भन्दै बजेट विनियोजन गर्दा भूगोल र जनसङ्ख्यालाई पनि आधार बनाउनुपर्ने धारणा राखे ।

सदस्य राजकुमार ओझाले रु पाँच अर्बको बजेट घाटा बजेट बनाएर सरकारले जनतालाई अन्योलमा राख्ने प्रयास गरेको आरोप लगाए । सदस्य रामचन्द्र लिम्बूले जनताका आवश्यकता धेरै भएको तर सीमित साधन र स्रोतले सबै आकांक्षा एकैपटक पूरा गर्न सम्भव नभएको जिकिर गरे।

सदस्य लक्ष्मण तिवारीले सरकार निर्वाचन क्षेत्र गौरवका योजनामा भुक्तानी दिने अवस्थामा नदेखिएको जनाउँदै सरकारले खास योजनाभन्दा टुक्रे योजना ल्याएर रमाउन खोजेको आरोप लगाए।

सदस्य शिवनारायण गनगाँइले सरकारले ७५ वर्षमाथिका नागरिकलाई सार्वजनिक यातायातमा सहुलियत दिने कुरासँगै बस्ने सिटको पनि आरक्षण हुनुपर्ने माग गरे । सदस्य श्रीप्रसाद मैनालीले विधिको शासन भए मात्र व्यवस्थाको गरिमा बढ्ने भन्दै झापाको निर्वाचन क्षेत्रमा कुनै पनि योजना नपरेकोमा दुःख व्यक्त गरे।

शून्य समयमा प्रदेशसभा सदस्य आशारत्न जवेगु, उषाकला राई, ज्योति सुब्बा, बिर्खबहादुर प्रधान, सञ्जाकुमारी दनुवार र सर्वध्वज साँवा लिम्बूले पनि रासायनिक खादमल, विकास, नदी कटान र डुबानजस्ता समस्याका बारेमा बोलेका थिए ।

सदनको मध्यभागमा प्रदेशसभा सदस्य नेकपा (एमाले) का तर्फबाट समानुपातिक प्रदेशसभा सदस्य गुलेफुन खातुनले व्यक्तिगत तथा पारिवारिक कारण देखाई हिजोकै मितिदेखि लागू हुने गरी दिएको राजीनामा पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनलाई जानकारी दिँदै पद रिक्त भएको घोषणा गरे। प्रदेश सभाको अर्को बैठक यही असार १७ गते शुक्रबार बिहान ११ः३० बस्नेछ ।