कृषि

मण्डनदेउपुरका किसानलाई क्यान

१७ साउन, बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूध बोक्ने क्यान वितरण गरेको छ । दूधको गुणस्तरीयता बढाउने उद्देश्यले चार हजार दुई सय किसानलाई क्यान वितरण गरेको हो ।

नगरपालिकाको ७० प्रतिशत अनुदान तथा किसानको ३० प्रतिशत लागत साझेदारीमा सो सामान वितरण गरेको नगर प्रमुख टोकबहादुर वाईबाले बताए । नगरप्रमुख वाइबाले किसानका लागि नगरपालिकाले चाहेको जति गर्न नसके पनि कृषि क्षेत्रमा काय गर्ने किसानलाई अझै काम गर्ने हौसला बढाउने अभियानमा लागिरहेको बताए ।

नगरपालिकाले कृषि क्षेत्रमा गाई, पाडी, ट्र्याक्टर वितरण गर्दै आएको उल्लेख गर्दै उनले नगरपालिकाले दिएको सबै अनुदानलाई सही ढङ्गले प्रयोग गर्न किसानलाई आग्रह गरेका छन् । नगरपालिका उपप्रमुख विष्णुमणि नेपालले दुग्ध उत्पादक किसानलाई दूधको गुणस्तरीयतामा ख्याल गर्न आग्रह गरे ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले श्रम बैंक, बीउ बैंक र भूमि बैंक सञ्चालन गर्ने नीति लिएको बताउँदै उनले नीति तथा कार्यक्रममार्फत किसानलाई धेरै काममा सहजता बनाउने बताए । नगरपालिकाभित्र रहेका किसान समूह, दुग्ध उत्पादक कृषि सहकारी र बहुउद्देश्यीय सहकारी संस्थामार्फत कूल रु ३२ लाख ७६ हजार लागतमा चार हजार दुई सय वटा दूध बोक्ने क्यान वितरण गरिएको नगरपालिकाको पशुपक्षी शाखा प्रमुख ध्रुव पराजुलीले बताए ।

जिल्लाको दुग्ध उत्पादक क्षेत्रमा पनौतीको कुशादेवी, विहावर र¥याले रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर मुख्य रहेको छ ।