अन्तर्राष्ट्रिय

पच्चीस बर्षे राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपति विक्रमासिङ्घेको भनाइ

१८ साउन, कोलम्बो । श्रीलङ्काले आगामी २५ बर्षका लागि राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपति रनिल विक्रमासिङ्घेले जानकारी गराएका छन् ।

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशको सङ्कट समाधानका लागि सहकार्य गर्न र सङ्कटग्रस्त अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न सबै दलहरूलाई आह्वान गरेका छन् ।

उनले सबै पार्टीलाई सरकारमा सहभागी हुन र संयुक्त सरकार बनाउन पनि बुधबार आग्रह गरेका हुन् । सबै पार्टी र संयुक्त सरकारले मात्रै मुलुकको सङ्कट समाधान गर्न सक्ने भएकाले सहकार्यका लागि आह्वान गरेको उनको भनाइ छ ।

उनले सरकारका नीति तथा कार्यक्रममाथि पनि सबै दलहरूको सुझाव पनि अपेक्षा गरेको बताएका छन् ।

नवौँ संसदको तेस्रो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहेका बेला उनले सबै दलहरूको सहयोगको अपेक्षा गरेका हुन् ।

श्रीलङ्कालाई अर्थतन्त्रमा आधुनिकिरण गर्न आवश्यक रहेको बताउदै उनले लामो समयसम्म विदेशी ऋणमा निर्भर पर्न नहुनेमा जोड दिए।

अर्थतन्त्रलाई राम्रो तरिकाले व्यवस्थापन नगरेकाले अहिलेको आर्थिक सङ्कट उत्पन्न भएको उनको भनाइ छ ।