समाचार

कांग्रेस नेता निधि र भारतीय मन्त्री गडकरीबीच भेटवार्ता

१९ साउन, काठमाडौँ । भारतका सडक परिवहनमन्त्री नितिन गडकरी र पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ । मन्त्री गडकरीको निवासमा बुधबार राति भएको छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरेका थिए।

निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएको निधिको सचिवालयले जनाएको छ । जटही–जनकपुर–ढल्केवर छ लेनको सडक नेता निधि भौतिक पूर्वाधारमन्त्री भएकै बेला सम्पन्न भएको थियो ।

यसैगरी कोलकाता बन्दरगाहदेखि दरभङ्गा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि नेता निधिले मन्त्री गडकरीसँग आग्रह गरेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

यसैबीच मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्तिमन्त्री गजेन्द्रसिंह सेखावतबीच भेटवार्ता भएको थियो । भेटमा दुवै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रणलगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री गडकरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपालका राजदूत डा शङ्कर शर्मा पनि सहभागी थिए । सो अवसरमा राजदूत शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने विषय अगाडि बढाएका थिए ।