कर्णाली प्रदेश

जुम्ली खसभाषाको अभिलेखीकरण गरिने

३१ साउन, कर्णाली । नेपाली भाषाको माउ भाषाकारुपमा परिचित जुम्ली खसभाषा अभिलेखिकरण गरिने भएको छ । यसका लागि स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण प्रक्रिया थालेको छ ।

खस भाषाको उद्गमस्थल जुम्लाको सिञ्जा उपत्यका मानिदै आएपनि अहिलेसम्म खसभाषा राष्ट्रिय भाषा आयोगमा दर्ता नभएपछि स्थानीय सरकारले समेत त्यसको अभिलेखीकरणको पहल थालेको हो । सिञ्जा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले खसभाषा आयोगमा लिपिवद्ध गर्न पहल अगाडि बढाइएको जानकारी दिए ।

अध्यक्ष धितालले आयोगको टोली जुम्लाको सिञ्जामा पुगेर पाँचवटा खस लिपिको मानक प्रमाणित गरेको बताए । उनका अनुसार गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरेको छ । “अब खसभाषाको लिपि भएको शब्दकोष अभिलेखीकरण तथा कम्प्युटराइज्ड गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको छ”, अध्यक्ष धितालले भने, “स्थानीय तह र सरोकारवालको बैठक बसालेर थप छलफल गर्छौँ”, खसभाषा अभिलेखीकरणका लागि सिञ्जामै प्रशिक्षण सञ्चालन गर्ने कार्यक्रम समेत राखिएको गाउँपालिकाले जनाएको छ ।

टुङ्गो लगाइयो स्वर र व्यञ्जन वर्ण

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले खसभाषा अभिलेखीकरणका विषयमा आयोगले प्रथामिकता दिएको बताए । स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा खसभाषा अभिलेखीकरण कार्य सुरु भएको उनले जनाए । अध्यक्ष अवस्थीका अनुसार राष्ट्रपतिसमक्ष पेश गरिएको प्रतिवेदनमा समेत खसभाषा समेटेर पठाइएको र अन्य काम भइरहेको छ ।

अध्यक्ष अवस्थीले भने, “जुम्ली खसभाषालाई माउ भाषाका रुपमा लिन अलि कठिन छ किनकी यसको वर्ण नै लोप भएको छ, यद्यपि यो एउटै परिवारका भाषा भने भए । खस भाषामा पाँचवटा व्यञ्जन वर्ण बढी छ”, उनले भने, “जुम्ली भाषा र देवनागरी भाषाबीच फरक छ । पछिल्लो समयमा खसभाषा बोल्ने नागरिकहरुको सङ्ख्या पनि कम हुँदै जाँदा यो लोपोन्मुख अवस्थामा छ ।”

स्थानीय सरकारको स्वामित्व रहने गरी प्राविधिक पृष्ठपोषण आयोगले गरेको बताउँदै त्यसको दीगोपनका लागि व्यवस्थापन पक्ष स्थानीय सरकारमा नै निहित रहेको उनले बताए । अध्यक्ष अवस्थीका अनुसार खसभाषाका २४ स्वर र ४१ वटा व्यञ्जन वर्णसमेत आयोगले तयार पारिसकेको छ ।

उनले वर्ण पहिचानका विषयमा स्थानीय डिल्लीप्रसाद तिवारीसहितका जानकारहरुबाट सहयोग प्रदान भएको बताए । तिवारीले रत्नाकर देवकोटाको पुस्तकमा पाइएका र गाउँपालिकाले निर्धारण गरेका तर आजसम्म लिपिवद्ध नभएका अक्षर अगाडि बढाइएको जनाए ।

उनका अनुसार यस अघि सिञ्जामा भएको खसभाषाको वर्ण सत्यापन (प्रमाणीकरण) गोष्ठीमा कथ्यमा आएका तर लेख्य अभ्यासमा नआएका वर्णहरुको सत्यापन गरी भाषामा स्थापित गर्दै लैजाने निक्र्यौल भएको थियो । त्यसका लागि कार्य अघि बढेको तिवारीले बताए । खसभाषाको लिपि र वर्ण तथा यसको बोलचाल एवं प्रयोगका विषयमा नेपाली भाषाविज्ञ डा.ओमप्रकाश आचार्य र खस भाषासेवी रमानन्द आचार्यसहितका भाषासम्बन्धी विज्ञ एवं जानकारबाट सहयोग लिइएको उनले बताए । आचार्यले खसभाषाको शब्दकोष निर्माणमा धेरै ठूलो मेहेनत गरेका बताउँदै उक्त शब्दकोष आयोगले प्रकाशन गर्ने सझौता भएको जनाइएको छ ।

भाषासेवी आचार्यले खस शब्दहरु डेढ दशकदेखि सङ्कलन तथा लेखन गरी करिब ३५ हजार शब्द सम्मिलित खसभाषाको खसिया आखर नेपाली भाषाको केन्द्रीय भाषिकाको शब्दकोश तयार गरिरहेका छन्। यो प्रकाशनोन्मुख अवस्थामा रहेको भाषासेवी आचार्यले बताए ।

अध्यक्ष अवस्थीले ‘खस भाषाको उत्थान र विकास’का लागि ढिला गर्न नहुने भन्दै यसमा सबैलाई साथ सहयोग दिन अनुरोध गरेका छन् । भाषिकाको रुपमा व्यवहार गरिएको नेपालको मूल खसभाषाको संरक्षणका लागि जुम्लामा विगत दुई वर्ष खस राष्ट्रिय सम्मेलन, विभिन्न कार्यशालाहरु सञ्चालन हुँदै आएको छ ।