राजनीति

सत्तागठबन्धनमा सिट बाँडफाँटबारे सकारात्मक छलफल

७ भाद्र, काठमाण्डौ । पाँच दलीय सत्ता गठबन्धनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे सकारात्मक छलफल भएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सिट बाँडफाँटका विभिन्न मोडालिटीबारे छलफल भएको र चाँडै निष्कर्षमा पुग्ने जानकारी दिए ।

उनले नेपाली कांग्रेस नेता एवं गठबन्धनको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको अस्वस्थताका कारण बैठक केही प्रभावित भएकाले बैठक भोलि पुनः बस्ने जानकारी दिए ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो ।