राजनीति

गठबन्धनलाई मजबुत बनाउन चियापान तथा भेटघाट

२३ भाद्र, गण्डकी । नेपाली कांग्रेस कास्कीको आयोजनामा आज पाँच दलीय गठबन्धनबीच चियापान तथा भेटघाट कार्यक्रम गरिएको छ ।

पोखराको चिप्लेढुङ्गास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका कास्कीमा रहेका केन्द्रीय र जिल्लास्तरका नेताको सहभागिता थियो ।

चियापानमा नेपाली कांग्रेसका तर्फबाट पूर्वसभामुख एवम् ने्पाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, माओवादी केन्द्रका तर्फबाट राजकाजी गुरुङ, विश्वप्रकाश लामिछाने, एकिकृत समाजवादीका तर्फबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतका सबै गठबन्धन दलका नेताको उपस्थिति रहेको कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए ।

गत स्थानीय निर्वाचनमा गठबन्धनका क्रममा देखिएका कमीकमजोरीलाई समीक्षा गरी आगामी दिनमा थप सशक्त बनाएर अधिकतम उपलब्धि हासिल गर्नेतर्फ केन्द्रित हुनका लागि चियापानको सुरुवात गरिएको उनले बताए । यस संयुक्त चियापान तथा भेटघाटलाई विजयादशमीका अवसरमा कास्कीका ७२ वटै वडामा लगिने उनले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले इमान्दारितापूर्वक एकता कायम गरी गठबन्धनका उद्देश्यलाई सफल पार्नुपर्ने बताए । उपलब्धी प्राप्तिका लागि गठबन्धनका दलबीचीच निरन्तर छलफल जारी राख्नुपर्ने बताउँदै उनले यसको सुरुवात कास्की कांग्रेसले जिल्लास्तरबाट थालेको उल्लेख गए ।

यसैबीच नेपाली कांग्रेसले शुरु गरेको “जनताको साथमा कांग्रेस” अभियानको पहिलो चरणको कार्यक्रम शुक्रबार वीपी जयन्तीसँगै समापनको अवसरमा कास्कीभर विविधि कार्यक्रम गरिने कांग्रेसका सहसचिव नविन सिग्देलले जानकारी दिए ।