मनोरञ्जन

गीतकार सुवेदी पुरस्कृत

७ असोज, काठमाडौँ । गीतकार प्रकाश सुवेदी आठौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट पुरस्कृत भएका छन् । उनलाई उत्कृष्ट सन्देशमूलक गीतकार विधामा ‘सीप सिकौँ, दक्ष बनौँ’ गीतका लागि पुरस्कृत गरिएको हो ।

उक्त गीत दुई वर्ष अघि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डको सहयोगमा नेपाली युवा–युवतीलाई स्वदेश तथा विदेश जहाँ रहे पनि सीप सिकेर मात्र आत्मनिर्भर बनी काम गर्नुपर्छ भन्ने चेतना जगाउन तयार पारिएको थियो । हरि लम्सालको सङ्गीत तथा स्वरका साथै उक्त गीतमा बहुचर्चित गायिका मेलिना राईसमेत साथ दिएका छन् ।

सीपमूलक तालिम लिएर दक्षता हासिल गरेका व्यक्तिलाई आफ्नो भाग्य निर्माण गर्न र सुखी/समृद्ध जीवन बिताउन सहज हुन्छ, सीपयुक्त व्यक्तिले भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुपर्छ, कर्मशील व्यक्तिको भाग्य आफ्नै हात र पौरखमा हुन्छ, जो व्यक्ति काममा दक्ष छ संसारको जुनसुकै कुनामा पुगे पनि पनि स–सम्मान काम पाउँछ भन्ने सन्देश उक्त गीतमार्फत दिन खोजिएको छ ।

निशान घिमिरेको निर्देशन/सम्पादन, निशाल पौडेलको छायाङ्कन र सुष्मा निरौला, घनश्याम जोशी, सचिन मल्ल, सञ्चारिका सुवेदी, सम्पदा सुवेदीलगायत कलाकारको अभिनय रहेको सो गीतिको श्रव्यदृश्यमा समाजको एउटा सङ्घर्षशील प्रतिनिधि पात्रले सुखी र समृद्ध जीवन निर्माणका लागि गरेका विभिन्न सङ्घर्षका चरणलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

जमलस्थित राष्ट्रिय नाचघरको हलमा सम्पन्न उक्त अवार्ड समारोहमा राष्ट्रिय भाव, सन्देशमूलक, पप, लोक, आधुनिक, चलचित्र गीत, अभिनय, छायाङ्कन, निर्देशन, सम्पादनसहित विभिन्न ५३ विधामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । राप्ती समाजका अध्यक्ष सीमा पुरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि सहरी विकासमन्त्री मेटमणी चौधरी रहेका थिए ।