स्वास्थ्य

डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ :महामन्त्री थापा

१४ असोज, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ द्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चाडपर्वको समयमा डेङ्गुले जनजीवन प्रभावित बनाएकाले यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्। “प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर सङ्क्रमणलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्छ”, उनले भने ।

पूर्वस्वास्थ्यमन्त्री थापाले सरकारसँग देशभरको डेङ्गु सङ्क्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्नेबारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गरे। सरकार महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले पार्टीभित्र सही ढङ्गले न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आएको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गरे । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टी निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको बताए ।

पार्टीभित्रका नेताले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढङ्गले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको सङ्घर्षको आवश्यताको बोध हुन थालेको बताए । उनले देशको वर्तमान मुद्दा नेपालका युवाले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने बताए ।