अन्तर्राष्ट्रिय

सन् २०२० पछि ओपेकको बैठक बुधबारदेखि भियनामा सुरू हुँदै

१५ असोज, भियना । सन् २०२० मा कोभिड–१९ को रोकथामका लागि लगाइएको प्रतिबन्धपछि पहिलो पटक अर्को हप्ता भियनामा ओपेकसहितका राष्ट्रका (ओपेक प्लस) कार्टेलको बैठक हुने भएको छ ।

साउदी अरेबियाको नेतृत्वमा ओपेकका १३ सदस्य राष्ट्र र रुसको नेतृत्वमा रहेका १० सहयोगी राष्ट्रका प्रतिनिधिको सन् २०२० को वसन्त ऋतुपछि बुधबार हुने प्रत्यक्ष बैठक अस्ट्रियाको राजधानीमा पहिलो पटक हुन लागेको हो ।

कच्चा तेलको मागलाई असर गर्ने मन्दीको डरको सामना गर्दै ठूलो उत्पादन कटौतीको अनुमान भइरहेका समय यो भेला हुन लागेको हो ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि मार्चमा तेलको मूल्य प्रतिब्यारेल १४० अमेरिकी डलरपुगेको थियो । तर, पछि मन्दीको डरबीच यो घटेर प्रतिब्यारेल ८० डलरमा झरेको छ ।

‘ओपेक प्लस’को बैठक भियनामा वर्षमा दुई पटक हुने गरेक्को थियो । तर कोरोनाभाइरस महामारीपछि भिडियो लिंकमार्फत हरेक महिना बैठक गरिँदै आएको थियो ।

सन् २०२० मा महामारीका कारण तेलको मूल्यमा गिरावट आएपछि ओपेक राष्ट्रहरूले उत्पादनमा भारी कटौती गर्ने सहमति गरेका थिए तर गत वर्ष बजारमा सुधार आएपछि उत्पादन बढाउन सुरु गरेको थियो ।