समाचार

कांग्रेस उपसभापति खड्काद्वारा वारेसमार्फत उम्मेदवारी दर्ता

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उपसभापति खड्काले निर्वाचन अधिकृतको कार्यालय मेहेलकुनामा प्रतिनिधि मुकरर (वारेसनामा) मार्फत उम्मेदवारी दर्ता गरेका हुन् ।

खड्काको प्रस्तावकमा उमेशकुमार पौडेल र समर्थकमा पदम खत्री रहेका छन् । निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले पार्टीको टिकट निर्वाचन आयोग, काठमाडौँबाट इमेल तथा र अन्य प्रमाणपत्रहरू प्रतिनिधिमार्फत प्राप्त भएको जानकारी दिए । खड्का सत्तारुढ गठबन्धनको साझा उम्मेदवार छन् ।

नेकपा (एमाले)बाट धु्रवकुमार शाही, राप्रपाबाट छत्रमणि थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहम्मद अस्तक अलीले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेत–१ को प्रदेशसभा (क) मा सत्तारुढ गठबन्धनको तर्फबाट कांगे्रसका खड्कबहादुर पोखरेल र एमालेका ठम्मर विष्ट तथा प्रदेशसभा (ख) गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्ण जिसी, एमालेका डण्डीप्रसाद शर्मासहित सात जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत खनालका अनुसार प्रदेशसभाको यो क्षेत्रमा एमालेका निवर्तमान प्रदेशसभा सदस्य खड्कबहादुर खत्रीको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।

वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुर्खेत क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट कांगे्रसका हृदयराम थानी, एमालेका अमृतकुमार बिसीले मनोनयन दर्ता गरेका छन् । यस क्षेत्रको प्रदेशसभा ९क० मा गठबन्धनबाट कांगे्रसका कालीप्रसाद शाक्य र एमालेका यामलाल कँडेल, (ख) मा गठबन्धनबाट माओवादी केन्द्रका बिन्दमान विष्ट र एमालेका ताराकेशर गौतम, नेकपा (एकीकृत समाजवादी)का मोहन बडुवालको उम्मेदवारी दर्ता भएको छ ।

हिमाली जिल्लामा वारेसमार्फत मनोनयन दर्ता

कर्णालीका हिमाली जिल्लामा अधिकांश उम्मेदवारहरु प्रतिनिधि मुकरर (वारेसनामा) मार्फत उम्मेदवारी दर्ता गराएका छन् । प्रतिकूल मौसम र टिकट वितरणमा ढिलाइ हुँदा कर्णालीका पहाडी र हिमाली जिल्लाका उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन नपाएका हुन् । कर्णाली मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला प्रदेशसभा क्षेत्र (ख) का लागि वारेसनामामार्फत उम्मेदवार दर्ता गरेको उनका स्वकीयसचिव राज रोकायाले जानकारी दिए ।

हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका प्रतिनिधिसभा र प्रदेशसभाका अधिकांश उम्मेदवारले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँमा रहेका ती जिल्लाका उम्मेदवारले पार्टीको टिकट भने निर्वाचन आयोगमा बुझाए । भारी वर्षात्का कारण यसपटक अघिल्ला निर्वाचनका निर्वाचनका बेलामा मनोनयन दर्ताको जस्तो रौनक देखिएन । उम्मेदवार र सीमित सङ्ख्यामा कार्यकर्ता छाता ओढेर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।