मनोरञ्जन

नेपाली चलचित्रलाई दर्शकको साथ

२५ असोज, काठमाडौं । दसैँ लक्षित चलचित्रहरुले अहिलेसम्म दर्शक पाइरहेका छन् । गत असोज ७ गतेदेखि प्रदर्शनरत ‘प्रेम गीत ३’ लाई दर्शकले माया गरिरहेका छन् । हिन्दी भाषामा स्वराङ्कन गरेर प्रदर्शन गरिएको उक्त चलचित्र विदेशमा पनि एकसाथ प्रदर्शन भयो ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रले स्टारभ्यालु, ब्राण्डकै आधारमा राम्रो व्यापार गरिरहेको छ । निर्मातासमेत रहनुभएका सेनकाअनुसार नेपालसँगै भारतमा पनि यस चलचित्रले राम्रो व्यापार गरिरहेको छ । असोज २१ देखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ ले पनि व्यावसायिक सफलता हात परिरहेको चलचित्र प्रस्तुतकर्ता किरण नेपाली जानकारी दिन्छन् ।

उनका अनुसार प्रदर्शनको दुई दिनमा ग्रस कलेक्सन रु दुई करोडभन्दा बढी छ । उक्त चलचित्रको लेखन तथा निर्देशनसँगै समीक्षासमेत गरेका दीपेन्द्र लामा भन्छन्, “ चलचित्रले मित्रताको कथा भन्छ । उनीहरुको सम्बन्धमा आउने उतारचढावमार्फत गम्भीर विषयलाई प्रस्तुत गरेका छौँ।”

दर्शक हल आउन थालेपछि निर्माता तथा निर्देशकसँगै प्रदर्शक र वितरक पनि खुसी छन् । चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन अहिले मनोरन्जनात्मक चलचित्र दर्शकले रुचाएको बताउछन् । उनी भन्छन्, “कोरोना भाइरसका कारण भएको लकडाउन पश्चात् दर्शकमा चलचित्रप्रति जागरण निकै बढेको छ ।”महासचिव महर्जन बताउनुहुन्छ, दर्शकमहरु प्रचार सामग्रीमा विश्वस्त नभएसम्म चलचित्रघर आउँदैनन भन्ने पछिल्लो प्रर्दर्शित चलचित्रको व्यापारले देखाएको छ ।”