स्वास्थ्य

विश्व पक्षघात दिवसका अवसरमा पदयात्रा

२ कात्तिक, काठमाण्डौ । विश्व पक्षघात दिवसको अवसरमा पदयात्रा गरिएको छ ।

नेपाल पक्षघात सङ्घ, नेपाल पक्षघात परियोजना, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललगायतका विभिन्न सङ्घ संस्थाको आयोजनामा आज बिहान काठमाडौँको महाराजगञ्जदेखि सामाखुसी चोकसम्म जनचेतनामूलक कार्यक्रमसहित पदयात्रा गरिएको हो ।

पदयात्रापछि आयोजित कार्यक्रममा बोल्दै नेपाल पक्षघात सङ्घका अध्यक्ष एवं वरिष्ठ न्यूरोलोजिष्ट डा राजु पौडेलले विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको बताए । “पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ, यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ”, डा पौडेलले भने । विश्वमा हरेक चारमा एकलाई र छ सेकेण्डमा एक जनालाई पक्षाघातको सम्भावना रहेको डा पौडेलको भनाइ छ ।

उनले नेपाल जस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गरे । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ । डा. पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवन पद्दति, असन्तुलित आहार र मुटुको चाल गडबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन सबैलाई आग्रह गरे ।
सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको उनले बताए ।

पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गरिने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने डा पौडेलको भनाइ छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले पक्षघातको समस्या विश्वव्यापी समस्या भएकाले यसको उपचारका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । पक्षघात भएका बिरामीलाई समयमै उपचार गर्न सके बचाउन सकिने उनको भनाइ थियो ।