राजनीति

काभ्रेमा मुख्य प्रतिस्पर्धा गठबन्धन र एमालेबीच

१३ कात्तिक, काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार अहिले नगरका विभिन्न भागमा कोणसभामा जुटेका छन् ।

प्रत्यक्षतर्फ गत कात्तिक २६ गते अन्तिम नामावली प्रकाशन भएलगत्तै नगरमा भेटघाट र घरदैलो थालेका सत्तारुढ गठबन्धन दल तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवार हाल ग्रामीण भेगमा पनि केन्द्रीत भएका छन् । केही साना दल र स्वतन्त्र उम्मेदवार पनि भेटघाटमै व्यस्त देखिन्छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन तीन हप्ता बाँकी भएसँगै चुनावी रमझम पनि निकै बढेको पाइएको छ । जिल्लाका आम मतदाताको ध्यान प्रतिनिधिसभा क्षेत्र नं १ र २ का उम्मेदवारमा केन्द्रीत भएको छ । निर्वाचनमा सत्तारुढ गठबन्धन तथा प्रमुख प्रतिपक्षी एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्लाभर प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र कायम गरिएको छ । प्रतिनिधिसभाका लागि क्षेत्र नं १मा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा पूर्व राज्यमन्त्री सूर्यमान दोङ र एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री रेशम लामाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । वि.सं २०४४ मा नेकपा (मसाल)बाट राजनीतिक यात्रा सुरु गरेका दोङले तत्कालीन नेकपा माओवादीको दश वर्षे सशस्त्र युद्धमा सहभागी हुँदै पार्टीका विभिन्न तहको नेतृत्व गरेका थिए ।गठबन्धनमा माओवादीलाई उक्त क्षेत्र भागमा परेपछि पार्टीले उनलाई उम्मेदवार बनाएको हो ।

वि.सं २०६४को संविधानसभा सदस्य निर्वाचनमा दोङ कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका संग्रामजीत लामालाई पराजित गर्दै निर्वाचित  भएकामा  २०७० सालकोे दोस्रो पटक संविधानसभा सदस्यको निर्वाचनमा भने नेपाली काग्रेसका तीर्थ लामासँग पराजित हुनुप¥यो । 

वि.सं २०४७ देखि विद्यार्थी सङ्गठनबाट राजनीति प्रारम्भ गरेका लामालाई अहिले एमालेले गठबन्धनका उम्मेदवार दोङसँग प्रतिस्पर्धामा उतारेको छ । राप्रपा, राप्रपा नेपालको विभिन्न तहको नेतृत्व गर्दै २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका लामा केही वर्षअघि मात्रै एमाले प्रवेश गरेका थिए ।

यो क्षेत्रमा मुख्य गरी गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमाले अघिल्ला निर्वाचनमा पराजित भएकामा अहिले  १ नं क्षेत्रमा विजेता बन्ने दौडमा लागेको जिकिर  गरिरहेको छ भने गठबन्धनका  दलहरु पनि आफ्नो बिरासत जोगाउन लागिपरेको छ । उक्त क्षेत्रमा पाँच स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वजिल्ला सभापति शिवप्रसाद हुमागाईं र एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उम्मेदवारीपछि यस क्षेत्रका मतदाताले विशेष चासोका रुपमा लिएका छन् ।

दुवैले जिल्लामा पार्टीको नेतृत्व गरेको र केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । वि.सं २०३६ मा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका गठबन्धनका उम्मेदवार हुमागाईं पार्टीका विभिन्न भातृ सङ्गठन हुँदै चार पटकसम्म पार्टीको जिल्ला नेतृत्व गरेका थिए ।

वि.सं २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुमागाई जिल्लाको तत्कालीन २ नं क्षेत्रबाट निर्वाचित भएका थिए । यसैगरी वि.सं २०३८ मा विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रारम्भ गरेका बाँस्कोटा विभिन्न भातृ सङ्गठन तथा पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पोलिटब्यूरो सदस्य छन् । विसं २०७० को संविधानसभा सदस्यमा कांग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बाँस्कोटा २०७४ सालको प्रतिनिधिसको निर्वाचनमा कांग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरी मन्त्रीसमेत भएका थिए ।

अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी भएका बाँस्कोटाको बिरासत तोड्न गठबन्धन दल चुनावी रणनीति बनाएर अघि बढेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा छन् । उनीहरुसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलिप लामा र चन्द्र लामा छन् ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ मा गठबन्धनका उम्मेदवार एकीकृत (समाजवादी)का लक्ष्मण लम्साल र कांग्रेसका कञ्चनचन्द्र वादेश्रेष्ठ छन् । उनीहरुसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा छन् । काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएकामा दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल जिल्लामा एकतीस दल क्रियाशील छन् ।

जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९०मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।