मनोरञ्जन

मंसिर १९ गते ‘नेपथ्य लाइभ कन्सर्ट’मा झुम्दै वीरगञ्ज, सङ्गीतमार्फत असहायहरुका लागि आर्थिक संकलन गरिँदै

१९ कार्तिक, वीरगञ्ज । आउँदो मंसिर १९ गते वीरगञ्ज सङ्गीतसँग झुम्ने भएको छ । सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, पालनपोषण गरी परिवारमा समेत पुन मिलन गराउने कार्यमा तल्लिन मानवसेवा आश्रम वीरगञ्जको भवन निर्माण सहयोगार्थ यहाँको आदर्शनगर रङ्गशालामा बृहत साङ्गीतिक कार्यक्रम ‘नेपथ्य लाईभ कन्सर्ट’ हुन लागेको छ ।

उक्त कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङले आफ्ना चर्चित र कालजयी गीत प्रस्तुत गर्ने छन । नेपथ्य नेपालको चर्चित र उत्कृष्ट व्याण्ड हो । आश्रमको भवन निर्माणमा सहयोग जुटाउन लाइभ कन्सर्ट आयोजना गरिएको आश्रमका प्रवक्ता सुमन वर्तौलाले जानकारी दिए । यहाँ निर्माण हुने भवनको कुल लागत रु १५ करोड रहेको छ । अहिले मानवसेवा आश्रम विरगञ्ज शाखा लाइभ कन्सर्टको तिब्र तयारीमा जुटेको छ भने टिकट बिक्री धमाधम भइरहेको छ । इच्छुकहरुले आश्रममा पुगेर वा अभियन्ताहरुमार्फत टिकट सुरक्षित गर्न सकिनेछ । उक्त कन्सर्टमा पाँच हजार टिकट बिक्री हुनेछ ।

भवन निर्माणका लागि वीरगञ्ज महानगरपालिकाले वडा नम्बर १५, लक्ष्मणवाँमा झण्डै एक विगाहा जग्गा उपलब्ध गराएको छ । लाइभ कन्सर्ट महिनाव्यापी हुनेछ । विराटनगरमा मङ्सिर १६ गतेबाट शुरु हुने कन्सर्ट काठमाडौँमा पुस १६ गते समापन हुनेछ । आश्रमको दोस्रो कार्यक्रमको रुपमा मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशालामा नेपथ्य व्याण्डको सहभागितामा कन्सर्ट हुँदैछ । त्यसपछि मंसिर २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौर, २५ गते भरतपुरको क्याम्पाचौर र २९ गते नेपालगञ्जको रङ्गशालामा कार्यक्रम हुने छ ।

यस्तै पुस ३ गते धनगढी रङ्गशाला, पुस ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ । कार्यक्रमको टिकट बुकिङ शुरु भएको र नजिकका आश्रम कार्यालयबाट टिकट लिन सकिनेछ ।

वि.सं २०७४ साल जेठ १५ मा वीरगंज महानगरपालिका ९ भारतीय दुवातासको नजिकै आश्रमले शाखा विस्तार गरेको थियो । आश्रमले वीरगञ्ज महानगरपालिकालाई केन्द्रविन्दु बनाई मधेश प्रदेश र छिमेकी प्रदेशका क्षेत्रहरूमा रहेका सडक मानवहरुको नियमित उद्दार तथा व्यवस्थापन गर्दै आएको छ । हाल एकै भवनबाट लक्ष्मी (आमा) र नारायण (बुबा) हरुको सेवा भइरहेकोमा भवन निर्माण सम्पन्न भइसकेपश्चात् लक्ष्मी, नारायण र बालबालिकालाई छुट्टाछुट्टै भवनमा राखेर सेवा दिन सकिने छ । भवन निर्माणको कार्य सम्पन्न भएपछि १०० जना विभिन्न उमेर समूहका सहयोगापेक्षी सडकआश्रित मानवहरूलाई संरक्षण गर्न सकिने छ ।

हाल आश्रममा ३९ महिला, २ पुरूष, १ बालक र ४ बालिका गरी ४६ जनाले सेवा प्राप्त गरिरहेका छन् । शाखा विस्तार भएदेखि हालसम्म करिब २०० जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार भएको छ । मानवसेवा आश्रम नितान्त दाताहरुको स्वेच्छिक सहयोग र स्थानीय सरकारको आंशिक सहयोगमा सञ्चालनमा रहेको छ । यसमा व्यक्तिहरुले स्वेच्छाले आफ्ना विशेष पर्व एवं अवसरहरुमा नगद वा जिन्सी सहयोग गर्न सक्ने आश्रमले जनाएको छ ।