समाचार

गठबन्धनको सूत्रधार मै होः अध्यक्ष केसी

२० कात्तिक, गलकोट । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँचदलीय गठबन्धको प्रमुख सूत्रधार आफू रहेको दाबी गरेका छन् । बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धका तर्फबाट उम्मेदवारसमेत रहेका नेता केसीले मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने बताए । आज बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले मङ्सिर ४ गतेको निर्वाचन प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने बताउँदै प्रतिगमन ढलेर जाने बताए ।

उनले भने, “मनै प्रतिगमनका विरुद्धमा लागेँ, त्यसैले गठबन्धन बनाउनै अग्रसर भएको थिएँ”, नेता केसीले भने, “अहिलेको हाम्रो लडाइँ प्रतिगमन र अग्रगमनबीच छ, मङ्सिर ४ गते प्रतिगमनलाई ढलाइन्छ ।” उनले आफूले प्रतिगमनको विरुद्ध र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको भन्दै आफूले सहजै ढङ्गले चुनाव जित्ने बताए ।

नेता केसीले संसद्मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । उनले जनताहरू विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने बताए ।