राजनीति

मङ्सिर ४ पछि एमालेको सरकार बन्छः अध्यक्ष ओली

२६ कात्तिक, गोदावरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । कैलालीको अत्तरियामा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व दिलाउने बताए ।

“मङ्सिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, राष्ट्रिय महत्वका योजना अघि बढ्छन्”, उनले भने । अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नदेखिएको टिप्पणी गरे ।

वर्तमान गठबन्धन देशको विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको उनको आरोप थियो । एमाले नेतृत्वको सरकारले ४१ महिना ८२ वटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले देशको समृद्धि र विकासका लागि एमाले सरकार नै आवश्यक भएको बताए ।

पछिल्लो समय देश अस्थिरतातर्फउन्मुख भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले देश बनाउने योजना एमालेसँग मात्र भएको बताए । उनले गठबन्धनसँग देशको विकास र समृद्धिका लागि कुनै नीति कार्यक्रम नभएको आरोप लगाए । अध्यक्ष ओलीले गरिब, असहाय, सुकुम्बासी र मुक्तकमैयाका समस्या एमालेले मात्रै समाधान गर्नसक्ने दाबी गरे ।

‘स्वाधीनताका पक्षमा लाग्ने पार्टीलाई जनताले जिताउँछन्’

लम्की– कैलालीको लम्कीमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमार्फत जनताले राष्ट्रियता, स्वाधीताका पक्षमा दृढतापूर्वक लाग्ने पार्टीलाई विजयी गराउने बताए ।

एमालेलाई जिताउन कसैले रोक्न नसक्ने ठोकुवा गर्दै उनले ज्येष्ठ नागरिक, बालबालिका, युवा, अशक्त र अन्यायमा परेका नागरिकलाई एमालेले सम्झने बताए । अध्यक्ष ओलीले भन्नुभयो, “देशमा ज्येष्ठ नागरिक छन् भनेर सम्झिने पार्टी एमाले हो, मासिक रु १०० बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले मासिक रु चार हजार पुगेको छ, भत्ता बढ्नुमा एमालेको देन छ ।”

‘अतिक्रमित भूमि फिर्ता ल्याइन्छ’

डोटी– एमाले जिल्ला कमिटी डोटीले आज दिपायलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको आरोप लगाए ।

आगामी निर्वाचनपछि बन्ने एमाले सरकारले सुदूरपश्चिमका ठूला परियोजना अगाडि बढाउने उनको भनाइ छ । अध्यक्ष ओलीले भने, “सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजना पश्चिम सेती, खुटिया–दिपायल द्रुत मार्ग, सहजपुर–बोगटान राजमार्गलाई पूर्णता दिइनेछ, लिपुलेक लिम्पियाधुरालाई नक्सामा कायम गरे जस्तै भूमि फिर्ता ल्याउछौँ ।”