राजनीति

ईश्वर पोखरेलको योजनामा प्रतिद्वन्द्वी पौडेलमाथि भ्रामक प्रहार प्रयास !

२८ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेल बेदाग छवि भएका नेता हुन् । विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा स्थापित हुँदै गरेका पौडेल पार्टीभित्र बौद्धिक र स्पष्ट वक्ताका रुपमा समेत सुपरिचित छन् ।
सामाजिक सञ्जालदेखि चोक चौतारी र चियापसलसम्म पौडेलको पक्षमा जनलहर सुन्न सकिन्छ । प्रतिस्पर्धी उम्मेदवारको विवादित विगत र अन्य प्रतिस्पर्धीको जनाधार नभएका कारण युवाबीच लोकप्रिय पौडेलको पक्षमा जनलहर देखिएको छ ।
अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रको समर्थन र वामगठबन्धनको पक्षमा देखिएको जनलहरको बलमा चुनाव जितेका पोखरेल यतिबेला रक्षात्मक अवस्थामा देखिएका छन् । त्यसमाथि कोरोनाको भ्रष्टाचार प्रकरण, ओम्नी र यति काण्डका साथै विगतमा भएको ट्यांकी काण्डका कारण उनी बद्नाम छन् । यस्तो पृष्ठभूमिमा पोखरेल युवा नेता पौडेललाई कमजोर सावित गर्न लागिपरेको सूचना प्राप्त भएको छ ।
उनको चुनावी प्रचारमा सहभागी एक सदस्यले पोखरेल पौडेलसँग निकै तर्सिएका छन् । राजधानीको एक होटलमा उनले आफू निकटका प्रचारकलाई भेला गरेर प्रदीपको बारेमा नकारात्मक सामग्री बनाउन निर्देशन दिएका छन् । ‘जसरी हुन्छ त्यो प्रदीपलाई डाउन गराउन हेरि तपाइँहरुले भूमिका खेल्नु पर्यो । नत्र बर्बाद हुने भयो’, उनको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘जे जे गर्नुपर्छ भन्नुस् म त्यसका लागि तयार छु । तर उसलाई रोक्न लागिपर्नुस्।’
उनको निर्देशनपछि केही प्रायोजित समाचार निर्माण सुरु गरिएको ती सदस्यको भनाइ छ । तर, सोहीअनुसार सामाजिक सञ्जालमा गाइँगुइँ भ्रामक खबर फैलाउन खोजिएपछि काठमाडौं ५ का एक मतदाताले भ्रामक प्रचारलाई आफूले राम्ररी बुझेको प्रतिक्रिया दिए । ‘जनता मुर्ख छैनन्, चुनावको मुखमा अनेक फण्डा भइनै रहन्छौँ’, उनले भने, ‘प्रदीप पौडेलको पक्षमा माहोल छ । उहाँलाई हामी जसरी पनि जिताइछाड्छौँ ।’
उसो त नेता पौडेलले शनिबार आयोजित एक कार्यक्रममै पोखरेलको कार्यशैली र विवादास्पद विगतको कडा आलोचना गरेका थिए । पौडेलले काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको जिकिर गरेका थिए ।
‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहान्छु । तपाइँले अवसर पाउनुभयो, एक पटक होइन पटक पटक । तर तपाइँले केही पनि गर्न सक्नुभएन ।’ पौडेलले भने ।

त्यसैगरी शक्तिमा हुँदा पनि केही काम नगरेको मात्र होइन विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई नै लुटेको उनको आरोप थियो । ‘नगरेको मात्र होइन, तपाइँले जनता महामारीमा हुँदा, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो ।’ उनको भनाइ थियो, ‘त्यसकाराण तपाइँको पालो पुग्यो अब हामीलाई मौका दिनुहोस् । हामीलाई अवसर दिनुस् । हामी ती प्रतिबद्धताहरु पुरा गरेर देखाउँनेछौँ ।’